Nov 04 2026 | २०८३ कार्तिक १९ गते

काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ

काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ

बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन भत्किने अवस्थामा पुगेसँगै सातै प्रदेशको सत्ता समीकरण फेरिने चर्चा चलिरहेको छ । त्यसको असर गण्डकीमा पनि देखिन थालेको छ।

    दुवै दलका नेताहरु आफ्नो पक्षमा सरकार बनाउन आवश्यक सङ्ख्या जुटाउन आन्तरिक रणनीतिमा लागेका छन् । सुदूरपश्चिम प्रदेशबाट सुरु भएको राजनीतिक घटनाक्रमको प्रभाव अन्य प्रदेश हुँदै गण्डकी प्रदेशसम्म आइपुग्ने परिस्थिति बनेको छ।

    images

    यसै सन्दर्भमा गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० संसदीय दलका नेता पञ्चराम गुरुङसँग रातोपाटीले सङ्घीयताको प्रभावकारिता, नयाँ सत्ता समीकरण र वर्तमान सरकारको भूमिकाका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ, उक्त संवादको सम्पादित अंशः

    सुदूरपश्चिमबाट सुरु भएको सत्ता समीकरण फेरबदलको बाछिटा गण्डकीसम्म पनि आउने परिस्थिति देखिएको छ । गण्डकीमा राप्रपाको जुन अस्तित्व छ, तपाईंले दलको नेतृत्व गर्दै गर्दा यो परिस्थितिलाई कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?

    यो राजनीतिक जटिलता र समस्या आउँछ भनेर हामीले सुरुदेखि नै भन्दै आएका थियौँ । यो वास्तवमा भन्ने एउटा र गर्ने अर्को प्रवृत्तिका कारण सिर्जना भएको परिस्थिति हो, जसले गर्दा हामीले दुःख पाइरहेका छौँ । हामीले हिजोका दिनदेखि नै यस्ता जटिलता आउँछन्, यसलाई सुधार गरेर लैजानुपर्छ र संविधानलाई संशोधन तथा परिमार्जन गर्नुपर्छ भन्दै आएका थियौँ । यो कुरा अहिले तथ्यले प्रमाणित गरिसकेको छ।

    हिजो पनि यो खेल भइरहेको थियो, आज पनि भइरहेको छ र भविष्यमा पनि यस्तै जटिलता भइरहने देखिन्छ । यसले गर्दा जुन उद्देश्यले यो व्यवस्था ल्याइएको थियो, त्यो उद्देश्य प्राप्त गर्न कठिन भइरहेको छ।

    तपाईंले संविधान संशोधन र संघीयता कार्यान्वयनको विषय उठाउनुभयो । यो चाहिँ प्रतिनिधि सभा र संघ सरकारबाट अघि बढ्ला । गण्डकीको हकमा यो परिस्थितिको समाधानका लागि राप्रपाले कसरी निकास निकाल्नुपर्छ भन्ने सुझाव दिन्छ ?

    राप्रपालाई धमिलो पानीमा माछा मार्ने पार्टीका रूपमा हेरिनु हुँदैन भन्ने पक्षमा हामी छौँ । देशको राजनीतिक गतिरोधको समाधानका लागि र सङ्घीयताको आर्थिक भार कम गर्नका लागि हाम्रो सोच अनुसार नै हामी अगाडि बढ्नुपर्छ।

    हिजोका दिनमा हामीले आफ्नो दलीय स्वार्थमात्रै हेरेको भए धेरै पहिले नै सरकार फेरबदलको खेलमा सहभागी हुन सक्थ्यौँ, तर संविधानले नै यी जटिलतालाई देखाएकाले अब कसरी हुन्छ निकासतर्फ जानुपर्छ । प्रदेशमा सहभागी हुँदै गर्दा पनि कसरी आर्थिक भार कम गर्ने र यसलाई परिणाममुखी बनाउने भन्ने विषयमा हामी गम्भीर छौँ।

    कांग्रेस र एमाले गठबन्धन तोडेर जाने अवस्था छ । गण्डकी प्रदेशमा राप्रपा निर्णायक शक्तिका रूपमा देखिएको छ । हिजोका दिनमा पनि राप्रपाकै समर्थनमा कांग्रेस नेतृत्वमा सरकार बनेको थियो र तपाईं आफैँ क्याबिनेटमा हुनुहुन्थ्यो । अब फेरि त्यस्तै परिस्थिति सिर्जना भयो भने तपाईंहरूको भूमिका के रहन्छ ?

    पहिलो कुरा त हामी दलीय पद्धतिमा भएकाले पार्टीको निर्णय र निर्देशनलाई नै अनुसरण गर्छौँ । केन्द्रीय नेतृत्व तहबाट प्रदेशको सन्दर्भमा जुन किसिमको निर्णय वा निर्देशन आउँछ, त्यही अनुसार नै हामी आफ्नो कदम अगाडि बढाउनेछौँ । हामीले पनि दिनुपर्ने केही सुझाव छन्, त्यो केन्द्रमा पठाउछौँ । मलाई लाग्छ पार्टीले हाम्रो भावना विपरीत निर्णय गर्नेछैन । हामी सत्तामा जानेभन्दा बाँकी अवधिलाई विनाविवाद ल्याण्ड गर्ने भूमिकामा रहन्छौँ।

    नयाँ परिस्थिति विकास भएको पनि २४–२५ घण्टा भइसक्यो । यो विषयमा पार्टीभित्र छलफल सुरु भएको छ कि छैन ?

    स्पष्ट रूपमा भन्नुपर्दा यस विषयमा अझै ठोस रूपमा छलफल भइसकेको अवस्था छैन । कार्यसमिति तहमा सामान्य रूपमा केही कुरा त आएका छन्, तर औपचारिक बैठक बस्न बाँकी नै छ । यस विषयमा सम्भवतः आज–भोलिभित्रै हामी बसेर छलफल गर्नेछौँ र आवश्यक निष्कर्षमा पुग्नेछौँ।

    परिस्थितिहरू जसरी निर्माण भइरहेका छन्, यसले संघीयताप्रति नै प्रश्न उठ्ने देखिन्छ । तपाईंको प्रतिक्रिया के छ ?

    हामीले हिजोदेखि नै सङ्घीयतालाई भागबन्डा गरेर खाने भाँडो बनाइयो भन्दै आएका थियौँ । वास्तवमा यसको मूल मर्म यो होइन । तर हाम्रो देशमा यसलाई भागबन्डा गर्ने माध्यम बनाइयो, जुन दुःखद् कुरा हो । यो भागबन्डाको खेलले देशलाई घातक असर गर्छ भनेर हामीले पटक–पटक भन्यौँ, जुन अहिले प्रमाणित भइसकेको छ।

    यदि राजनीतिक दलहरू यसमा गम्भीर भएनन् भने भविष्यमा देश थप सङ्कटमा पर्नेछ । त्यसैले यसलाई द्वन्द्वमा लैजाने भन्दा पनि सबै दलहरू मिलेर सहकार्य र समन्वयबाट निकास निकाल्नुपर्छ । एउटाले अर्कालाई सिध्याउन खोज्ने प्रवृत्ति त्यागेर सबैको समन्वयबाट मात्रै देशले सही निकास पाउन सक्छ।

    गण्डकी प्रदेशकै कुरा गर्दा, सत्तारूढ दल नेपाली कांग्रेस र सहकार्य गरिरहेको एमालेका नेता वा सांसदहरूबाट तपाईंहरूसँग यस बिचमा कुनै छलफल वा कुराकानी भएको छ कि छैन ?

    औपचारिक छलफल त भएको छैन, तर हिजो म व्यक्तिगत व्यस्तताका कारण केही समय सम्पर्क बाहिर रहँदा केही दलका साथीहरू र नेतृत्व तहबाट फोन आएका रहेछन् । मैले त्यतिबेला कुरा गर्न पाएको थिइनँ, अब म उहाँहरूसँग सम्पर्क गरेर कुरा बुझ्ने प्रयास गर्नेछु।

    भोलि कुनै निर्णयमा पुग्नुपरेमा तपाईंले केन्द्रीय नेतृत्वलाई कस्तो सुझाव दिनुहुन्छ र गण्डकी प्रदेशको सरकार कस्तो बनोस् भन्ने चाहनुहुन्छ ?

    मैले हिजोदेखि नै भन्दै आएको छु, आलोपालो र सत्ता स्वार्थका लागि मात्र नभई साँच्चिकै गण्डकी प्रदेशलाई एउटा नमुना प्रदेश बनाउने सोचका साथ अगाडि बढ्नुपर्छ।

    हामीले प्रदेश सभामा आएर खासै उल्लेखनीय काम गर्न सकेका छैनौँ । सानातिना योजना वा खानेपानीका धारा बाँड्ने काम त भयो होला, तर दुरगामी महत्त्वका काम हुन सकेका छैनन् । त्यसैले प्रदेश सरकारले कम्तीमा एउटा उदाहरणीय काम गरोस्, जसले गर्दा जनताले सङ्घीयताको सकारात्मक महसुस गर्न सकुन् । यस्तो सहकार्यका लागि हामी जुनसुकै दलसँग पनि सकारात्मक छौँ।

    गण्डकी प्रदेशमा अहिलेकै क्याबिनेट सन्तुलित छ कि नयाँ बन्ने क्याबिनेटले थप प्रभावकारी काम गर्छ भन्ने लाग्छ ?

    काम गर्ने हो भने पात्र परिवर्तन गरेरमात्र हुँदैन, काम गर्ने नियत सफा हुनुपर्छ । नियत सफा छ भने जो आए पनि काम हुन्छ । जहाँसम्म अहिलेको क्याबिनेटको कुरा छ, यसमा मलाई कुनै असन्तुष्टि छैन । वर्तमान मन्त्रीमण्डलका सबै सदस्य सक्षम र कार्यकुशल हुनुहुन्छ र उहाँहरू एउटा उद्देश्य लिएर आउनुभएको छ।

    त्यसैले यसलाई कमजोर भन्न मिल्दैन र वर्तमान क्याविनेटप्रति मेरो कुनै असन्तुष्टि छैन । काम नगर्ने हो भनेमात्रै क्याबिनेट फेर्नुपर्ने अवस्था आउँछ, तर अहिलेको क्याबिनेटले काम गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार