काठमाडौँ । हाल नेपालभरका विभिन्न मेडिकल कलेजहरूमा एमबीबीएस तथा बिडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले विभिन्न माग राखी गरिएको आन्दोलनप्रति नेपाल चिकित्सक सङ्घले ध्यानाकर्षण भएको जनाएको छ।
सङ्घले आज बुधवार विज्ञप्ति जारी गर्दै अत्यधिक तनावका बाबजुद अहोरात्र सेवामा खटिनुपर्ने अवस्थामा रहेका इन्टर्न चिकित्सकहरूलाई प्रदान गरिने भत्तामा एकरूपता नहुनु र वैज्ञानिक ढङ्गले भत्ता वितरण नगरिनु उनीहरूमाथि सरासर अन्याय भएको ठहर गरेको छ ।
इन्टर्न चिकित्सकहरूको भत्तामा एकरूपता कायम गर्ने विषयमा नेपाल सरकारले कार्यदल गठन गरी प्रतिवेदन समेत तयार गरिसकेको भए तापनि हालसम्म त्यसको औपचारिक निर्णय तथा कार्यान्वयन हुन नसक्नु दुखद रहेको सङ्घको भनाइ छ ।
चिकित्सक सङ्घका अध्यक्ष डा.बद्री रिजाल र महासचिव डा.विश्वराज दवाडीले संयुक्त रूपमा जारी विज्ञप्तिमा इन्टर्न चिकित्सकहरूद्वारा अगाडि सारिएका जायज मागहरू अविलम्ब सम्बोधन गर्न सरकारसँग जोडदार माग गरिएको छ ।
सङ्घले चिकित्सकहरूको स्टाइपेन्डमा देशभरि नै एकरूपता कायम गर्नुपर्ने आवश्यकता औँल्याएको छ । साथै, यस विषयमा अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा ल्याउन समेत सङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।




