काठमाडौँ । जनकपुरधामबाट सुरु भएको मिटरब्याज विरुद्ध (पैदल) न्याय मार्चको छैटौँ दिन बाराको निजगढमा नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत पक्षबिच दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ।
मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिका प्रवक्ता नवीन निर्गका अनुसार दोस्रो चरणको वार्ताका क्रममा आन्दोलनकारीहरूले आफ्ना अडानहरू स्पष्ट रूपमा गृहमन्त्रीसमक्ष राखेका छन् ।
वार्तामा सङ्घर्ष समितिले यसअघि सरकारले गठन गरेका तीन वटा आयोगका प्रतिवेदनहरू तत्काल सार्वजनिक गर्न जोडदार माग गरेको छ । ‘नेपाल सरकारले विगतमा गठन गरेका तीन वटा आयोगका प्रतिवेदनहरू सार्वजनिक गरियोस् भनी हामीले स्पष्ट माग राखेका छौँ,’प्रवक्ता निर्गले भने ।
६ बुँदे मागसहित आन्दोलनमा उत्रिएका पीडितहरूले दोस्रो चरणको संवादमा आफ्नो तर्फबाट दृढ अडान प्रस्तुत गरे पनि गृहमन्त्री गुरुङबाट भने यसबारे ठोस प्रतिक्रिया आइनसकेको बताए ।
प्रवक्ता निर्गले भने, ‘हामीले हाम्रा अडानहरू स्पष्टसँग राख्यौँ, तर यसबारेमा गृहमन्त्रीले अहिलेसम्म ठोस रूपमा केही भन्नुभएको छैन ।’
हाल दुवै पक्ष आ–आफ्नो तर्फबाट आन्तरिक गृहकार्य र संवादको समीक्षामा जुटेका छन् । सङ्घर्ष समितिले वार्ताका माध्यमबाट सहमति जुट्न नसके भोलिदेखि नै काठमाडौँतर्फको पैदल यात्रा पुनः सुरु गर्ने चेतावनी दिएको छ ।
‘वार्तामा ठोस सहमति जुट्न सकेन भने हामी भोलिदेखि नै पुनः पैदल यात्रामार्फत काठमाडौँतर्फ अघि बढ्नेछौँ,’प्रवक्ता निर्गले भने।



