काठमाडौँ । क्यानडाको टोरन्टो सहरमा आयोजित एक सडक महोत्सवमा भएको गोलीबारीमा कम्तीमा २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार साँझ स्थानीय समयअनुसार करिब ८ः १२ बजे सेन्ट क्लेयर एभिन्यूमा वार्षिक साल्सा अन सेन्ट क्लेयर महोत्सव चलिरहेका बेला गोली चलेको थियो ।
घटनास्थलमा पुगेका प्रहरी टोलीले गोली लागेका ६ जना फेला पारेका थिए । तीमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ । घटनापछि आयोजित पत्रकार सम्मेलनमा टोरन्टो प्रहरीले महोत्सवमा रहेका दुई व्यक्तिबिच गोली हानाहान भएको जनाएको छ ।
घटनास्थलबाट दुई वटा बन्दुक बरामद गरिएको भए पनि घटनामा संलग्न कसैलाई अहिलेसम्म पक्राउ गर्न नसकिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । टोरन्टो प्रहरीका उपप्रमुख फ्रान्सिस्को बारेडोले घटनास्थल अत्यन्त अव्यवस्थित बनेको बताउँदै गोलीबारी हुँदा महोत्सवमा करिब १३ हजार मानिस उपस्थित रहेको जानकारी दिए।
उनका अनुसार घटनासँग सम्बन्धित तीन फरक अपराधस्थल सुरक्षित गरेर अनुसन्धान अघि बढाइएको छ । प्रहरीले सर्वसाधारणलाई घटनास्थलबाट टाढा रहन आग्रह गर्दै घटनाबारे कुनै जानकारी वा प्रत्यक्षदर्शी भए प्रहरीलाई सम्पर्क गर्न अपिल गरेको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवार, गम्भीर घाइते तथा प्रभावित सबैप्रति समवेदना प्रकट गरेका छन् । त्यस्तै, ओन्टारियो प्रान्तका प्रमुख डग फर्डले यसलाई अर्थहीन हिंसा भन्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । उनले घटनास्थलमा खटिएका उद्धारकर्मी र सुरक्षाकर्मीप्रति पनि आभार व्यक्त गरेका छन् ।
मध्यभागमा पर्ने सेन्ट क्लेयर एभिन्यूमा हरेक वर्ष आयोजना हुने साल्सा अन सेन्ट क्लेयर ल्याटिन महोत्सव यस वर्ष २२औँ संस्करणका रूपमा आयोजना गरिएको थियो । महोत्सवमा प्रत्यक्ष संगीत, नृत्य तथा सांस्कृतिक कार्यक्रमहरू समावेश थिए।



