Nov 03 2026 | २०८३ कार्तिक १८ गते

आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने

आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने

शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौँ । आदिवासी जनजाति आयोगले नेपालको वर्तमान संविधानमा परिमार्जनको माग गर्दै २५ बुँदे संशोधन प्रस्ताव अघि सारेको छ ।

    आयोगले पत्रकार सम्मेलन गरेर आफ्ना माग अघि सारेको हो । आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम र महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न तथा पहिचान र अधिकारलाई संस्थागत गर्न संविधान संशोधनको लागि आयोगले सरकारसँग माग गरेको हो ।

    images

    आयोगले देशको राष्ट्रिय पहिचान र भाषिक व्यवस्थामा महत्त्वपूर्ण परिवर्तनको प्रस्ताव गरेको छ । जसअन्तर्गत वर्तमान राष्ट्रिय जनावर गाईको सट्टा गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने माग गरिएको छ । त्यस्तै, आदिवासी जनजातिले बोल्ने र लिपि भएका सबै भाषालाई सरकारी कामकाजको भाषा बनाइनुपर्ने तथा प्रदेश अनुसार तोकिएका कामकाजका भाषामा राष्ट्रिय गान गाउन सक्ने व्यवस्था मिलाउन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

    प्रत्येक समुदायको भाषिक तथा सांस्कृतिक संरक्षणको जिम्मेवारी राज्यले लिने र नागरिकको पनि यसमा दायित्व रहने व्यवस्था गर्नुपर्ने आयोगको भनाइ छ । राज्यको विद्यमान संरचनामा परिवर्तन गर्दै संघ, प्रदेश, स्थानीय र संरक्षित तथा स्वायत्त क्षेत्र गरी ४ तह बनाइनुपर्ने र सोही अनुसार संरक्षित वा स्वायत्त क्षेत्र कायम गरिनुपर्ने प्रस्ताव अघि सारिएको छ।

    विकासका नाममा हुने विस्थापनलाई रोक्न कुनै पनि विकास र निर्माणका योजना वा परियोजना सञ्चालन गर्दा आदिवासी जनजाति समुदायलाई उनीहरूको परम्परागत पेसा, व्यवसाय र भूमिबाट स्वतन्त्र पूर्वसूचित सहमति नलिई विस्थापित गर्न नपाइने ग्यारेन्टी माग गरिएको छ ।

    संघीय तहका प्रमुख पदहरू र मन्त्रिपरिषद् गठनमा पनि आयोगले पूर्ण समानुपातिक प्रणालीको माग गरेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक लिङ्ग र समुदायबाट क्रमशः प्रतिनिधित्व हुने गरी गरिनुपर्ने तथा जनसङ्ख्याको आधारमा समानुपातिक सिद्धान्तका आधारमा संघीय मन्त्रिपरिषद् गठन हुनुपर्ने आयोगका माग छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन क्षेत्रमा समेत जातीय जनसङ्ख्याकै आधारमा समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने माग गरिएको छ ।

    साथै, प्रतिनिधि सभाको सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा एक जना महिला अनिवार्य गर्दै, खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित वा मुस्लिम समुदायबाट चक्रीय प्रणाली अनुसार चयन गरिनुपर्ने व्यवस्था उपयुक्त हुने आयोगको ठहर छ ।

    न्यायपालिकामा पूर्ण समानुपातिक समावेशिताको मुद्दालाई जोड दिँदै आयोगले सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको नियुक्ति गर्दा जातीय जनसङ्ख्याको आधारमा खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित र मुस्लिमको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग राखेको छ । न्याय सेवा आयोगमा प्रधान न्यायाधीश र कानुन मन्त्रीसहित रहने संरचनामा सरकारले थप ४ जना सदस्य नियुक्त गर्दा यी समुदायको समानुपातिक समावेशिता सुनिश्चित हुने गरी गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

    प्रादेशिक व्यवस्थाको हकमा प्रदेश मन्त्रिपरिषद् गठन गर्दा र पहिलो हुने निर्वाचित हुने प्रणालीमा सम्बन्धित प्रदेशको जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने आयोगको माग छ । यसका साथै मुख्यमन्त्री र प्रदेश सभामुख चयन गर्दा आदिवासी जनजाति, मधेसी, दलित र मुस्लिमलाई प्राथमिकता दिनुपर्ने प्रस्ताव गरिएको छ ।

    हाल रहेको आयोगको नाम ‘राष्ट्रिय आदिवासी जनजाति आयोग’ राख्दै यसको काम, कर्तव्य र अधिकारलाई संविधानमै स्पष्ट र सुदृढ रूपमा उल्लेख गरिनुपर्ने मागसहित आयोगले आदिवासी जनजाति समुदायलाई अन्तर्राष्ट्रिय सन्धि र संयुक्त राष्ट्रसंघीय घोषणापत्रले सुनिश्चित गरेका हक अधिकारहरू पूर्ण रूपमा कार्यान्वयन गराउन यी संशोधनहरू अपरिहार्य रहेको जिकिर गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार