काठमाडौँ । मिटरब्याजीहरूको शोषण र अत्याचारविरुद्ध न्याय माग्दै काठमाडौँ हिँडेका पीडितहरू धनुषाको ढल्केबर पुगेका छन्।
मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको यो पैदल ‘न्याय मार्च’ सङ्घीय राजधानी काठमाडौँसम्म पुग्ने तय भएको छ। मिटरब्याजको समस्या समाधान गर्न सरकारलाई दबाब दिने उद्देश्यले उनीहरू मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पैदल यात्रामा निस्किएका हुन्।
जनकपुरधामको तिरहुतियागाछीमा कार्यक्रम गरेर बिहीबार साँझ ५ बजे हिँडेका पीडितहरू यात्राको दोस्रो दिन बिहानै ढल्केबर आइपुगेका हुन्। न्यायको खोजीमा रहेका यी आन्दोलनकारीहरू धनुषाको महेन्द्रनगर हुँदै महोत्तरीको बर्दिवासतर्फ अगाडि बढिरहेका छन्। यो पैदल टोली करिब एक साताको अवधिमा सङ्घीय राजधानी काठमाडौँ पुग्ने अनुमान गरिएको छ।
सरकारले यसअघि मिटरब्याज पीडितहरूसँग चार पटकसम्म लिखित सहमति गरे पनि ती सहमतिहरू अझै कार्यान्वयन भएका छैनन्। राज्यले आफूहरूसँग गरेका बाचा र सहमतिहरू कागजमै सीमित भएपछि फेरि पनि सरकारलाई घचघच्याउन र दबाब दिन काठमाडौँसम्मको लामो पैदल यात्रा तय गर्नुपरेको पीडितहरूको भनाइ छ। साहुमहाजनको ऋणको चक्रव्यूहमा फसेका किसान र मजदुरहरू न्याय नपाएसम्म आफ्नो आन्दोलन नरोकिने सङ्केत गर्दै सडकमा उत्रिएका छन्।



