काठमाडौं । कुवेतबाट १४ महिलाले फेसबुकमार्फत एक सन्देश जारी गर्दै आफूहरुलाई इन्देश म्यानपावरले अलपत्र पारेको आरोप लगाएका छन् ।
उनीहरुको दावी अनुसार इन्देश म्यानपावरले दुई महिनाअघि कुवेत पुर्याएर अलपत्र पारेको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै उनीहरूले भनेका छन्– ‘हामी के यहाँ विवाह गर्न आएका हौं र ? हामी त यहाँ काम गर्न आएका हौं, तर यहाँ हाम्रो अनुहार हेर्न आउँछन्, काम गर्न ल्याएको भए काम दिनुपर्यो, होइन भने हामीलाई घर पठाउनुप¥यो ।’
पिडीत महिलाहरुका अनुसार त्यहाँ पुग्नासाथ उनीहरुको मोवाईल खोसेर बन्द कोठामा राखिएकोले उनीहरुले परिवारसँग समेत सम्पर्क गर्न पाएका थिएनन् । पैसा खातामा नहाल्नु भन्दै नगदै लिएर राम्रो कम्पनीमा काम लगाइदिने प्रलोभन दिएइएको भएतापनि कुवेत पुगिसकेपछि घरायसी काममा लगाउन खोजिएको भन्दै पिडीत महिलाहरुले आपत्ती जनाएका छन् ।
आफूहरुको अनुहार हेर्न त्यहाँका मान्छेहरु आउने गरेको र त्यही आधारमा घरमा काम गराउन खोजेको भन्दै उनीहरुले ‘हामी घरेलु कामदारका रूपमा काम गर्न आएका होइनौं, एक–दुई दिनका लागि पनि जाँदैनौं,’ भन्दे सन्देश फेसबुक भिडियोमार्फत जारी गर्दै सम्झौतानुसारको काम नदिए नेपाल फर्काउन उनीहरूले माग गरेका छन् ।
कम्पनीमा काम गर्न भनेर ल्याएर काम नदिने उल्टै खाने बस्ने व्यस्था गरेको भन्दै धम्क्याउन थालेपछि उनीहरूले सम्झौतानुसारको काम दिन नसके तत्काल आफूहरूलाई उद्धार गरी स्वदेश फर्काउन नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावासलगायत सरोकारवाला निकायहरूलाई अनुरोध गरेका छन् । पिडीत महिलाका अनुसार उनीहरुले म्यानपावरलाई प्रतिव्यक्ति २ लाख ४५ हजार रुपैयाँ मासिक ७५ केडी तलव र अन्य सुविधा पाउने शर्तमा बुझाएका हुन् ।



