काठमाडौँ । एमाले निकट युवाहरूले पार्टी रूपान्तरण र पुनःसंरचनाका लागि गरेको ‘पुनर्जागरण अभियान–२०८२’ अन्तर्गतको मत सर्वेक्षण नतिजा सार्वजनिक भएको छ ।
असार १२ गते सुरु भएको अभियान अन्तर्गतको मत सर्वेक्षण असार २२ सम्म सञ्चालन गरिएको अभियानकर्ताहरूले बताएका छन् । मत सर्वेक्षणका लागि खुला रूपमा गुगल फर्ममार्फत विभिन्न १८ वटा प्रश्न सोधिएको थियो ।
उक्त फर्ममार्फत स्वदेश तथा विदेशमा रहेका एमालेका सङ्गठित सदस्य, समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिकले सुझाव दिएका छन् । देशभरसहित विदेशका १४ राष्ट्रमा रहेका नेपाली नागरिकहरूले सहभागिता जनाएको अभियानकर्ता गजेन्द्र थपलियाले जानकारी दिए ।
उनका अनुसार मत सर्वेक्षण रिपोर्ट बिहीबार एमाले महासचिव तथा एमाले पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेललाई बुझाइएको छ ।
अभियानको मुख्य उद्देश्य पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण, सङ्गठनात्मक पुनः संरचना, पुस्तान्तरण र आन्तरिक लोकतान्त्रीकरणका विषयमा कार्यकर्ता तथा शुभेच्छुकको प्रत्यक्ष धारणा सङ्कलन गर्नु रहेको बताइएको छ ।
मत सर्वेक्षण प्रक्रियामा सबैभन्दा धेरै ४० देखि ६० वर्ष उमेर समूहका ४३ दशमलव ७ प्रतिशत मानिस सहभागी भएका थिए । त्यस्तै ६० वर्षमाथिका ३७ दशमलव १ प्रतिशत र १८ वर्षदेखि ३० वर्ष उमेर समूहका १३ दशमलव ७ प्रतिशत सहभागी भएको सार्वजनिक नतिजामा उल्लेख छ ।
मत सर्वेक्षणमा ‘नेकपा एमाले हालकै अवस्थामा अघि बढ्न सक्छ ?’भनेर सोधिएको प्रश्नमा रूपान्तरणको पक्षमा ९१.४ प्रतिशतले मत हालेका छन् ।
त्यस्तै विद्यामान पार्टी नेतृत्वको व्यवहार तथा आचरण सुध्रिनुपर्छ भनेर मत हाल्नेमा ९५ दशमलव ४ रहेका छन् । त्यसैगरी विद्यामान पार्टी नेतृत्वको कार्यशैली सुध्रिनुपर्छ भनेर मत हाल्नेमा झन्डै ९५ प्रतिशत अर्थात् ९४.९ प्रतिशतले मत हालेका छन् ।
विद्यामान पार्टी नीति बदल्नुपर्छ भन्नेमा ८७.५ प्रतिशतले मत हालेका छन् भने हालकै नीति ठिक छ भन्नेमा १०.५ प्रतिशतले मत हालेका छन् ।
त्यस्तै पार्टी नेतृत्व परिवर्तनको पक्षमा ८७.६ प्रतिशतले मत हाल्दा हालकै नेतृत्व ठिक भन्नेमा १०.५ प्रतिशत रहेका छन्।
पार्टीको विद्यमान संगठनात्मक संरचना परिवर्तन गर्नुपर्ने पक्षमा ९१.४ प्रतिशतले मतदान गर्दा पार्टी नेतृत्व चयन प्रक्रियामा सबै सङ्गठित सदस्यहरूको मत लिने व्यवस्था गर्नुपर्ने पक्षमा ८२.९ प्रतिशतले मत दिएका छन् ।
त्यस्तै पार्टी वा संसदीय निर्वाचनमा एकै पदमा बढीमा २ पटक मात्र जिम्मेवारी लिन पाउने व्यवस्था आवश्यक छ ? भन्ने प्रश्नमा ८२.८ प्रतिशतले आवश्यक छ भन्नेमा मत हालेका छन् ।
त्यसैगरी नेकपा एमाले पुनसंरचनाको निकास विशेष महाधिवेशनमार्फत निकाल्नुपर्छ भन्नेमा ४७.७ प्रतिशतले मत जाहेर गरेका छन् भने अर्ली महाधिवेशनको पक्षमा २५ प्रतिशत र केन्द्रीय कमिटीको पक्षमा २४.४ प्रतिशतले मत दिएका छन् ।
त्यसैगरी विद्यमान अवस्थामा नेकपा एमालेको नेतृत्व हस्तान्तरण कुन तहका नेतालाई गर्दा उपयुक्त होला भन्ने प्रश्नमा केन्द्रीय कमिटीभित्रबाट भन्नेमा ५०.२ प्रतिशत, पदाधिकारीभित्रबाट भन्नेमा १६.७ र केन्द्रीय कमिटीभन्दा बाहिरबाट खोज्नुपर्छ भन्नेमा २६.४ प्रतिशतले मत दिएका छन्।



