Nov 03 2026 | २०८३ कार्तिक १८ गते

जेनजी आन्दोलनमा भएको तोडफोडपछि खण्डहर बन्दै सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)

जेनजी आन्दोलनमा भएको तोडफोडपछि खण्डहर बन्दै सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)

बुधवार, आषाढ २४ २०८३
  • काठमाडौँ। ललितपुरको गोदावरीस्थित सरकारी सभा–सम्मेलनका लागि निर्माण गरिएको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि ध्वस्त भएको छ। भदौ २४ गते भएको हिंसात्मक घटनामा सम्मेलन केन्द्रको मुख्य सभाहलमा आगलागी हुँदा छत नै खसेको छ भने सिसा, भित्री संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत ठुलो क्षति पुगेको छ।

    गोदावरीको ४३ रोपनी १५ आनामा निर्माण गरिएको उक्त सम्मेलन केन्द्र करिब तीन हजार दर्शक तथा सहभागी अट्ने क्षमताको थियो। शहरी विकास मन्त्रालयले २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट भवनको शिलान्यास गराएको थियो भने २०७८ वैशाख ३१ गते प्रधानमन्त्री ओलीले नै भर्चुअल माध्यमबाट यसको उद्घाटन गरेका थिए।

    images

    सुरुमा करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण सम्झौता भएको परियोजनाको लागत बढेर झन्डै ८१ करोड रुपैयाँ पुगेको थियो। केसी–समानान्तर जेभीले निर्माणको ठेक्का पाएको यस परियोजनाको निर्माण अवधि दुई पटक थप गरिएको थियो।

    २०७८ असारदेखि सम्मेलन केन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति मार्फत सञ्चालन हुँदै आएको थियो। सम्मेलन केन्द्रका लागि मुआब्जा दिएर अधिग्रहण गरिएको जग्गामध्ये १ सय रोपनी १ आना ३ पैसा जग्गा अतिक्रमणमा परेको विषय पनि यसअघि उठ्दै आएको थियो।

    सरकारी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलन सञ्चालनका लागि निर्माण गरिएको यो आधुनिक पूर्वाधारमा भएको क्षतिले राज्यलाई ठुलो आर्थिक नोक्सानी पुगेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार