काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा हक अधिकार र जीविकोपार्जनको माग राख्दै आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूको धर्ना तथा आन्दोलन '१२ औँ दिन' पनि जारी रहेको छ।
लामो समयदेखि शान्तिपूर्ण रूपमा धर्ना दिँदै आएका दृष्टिविहीनहरूले हिजो (बिहीबार) सरकारलाई दबाब दिने उद्देश्यले सिंहदरबार घेराउ गर्न अघि बढेका थिए, तर प्रहरीले उनीहरूलाई भद्रकाली नजिकै बीच बाटोमै रोकेको थियो। यसअघि उनीहरूले बुधबार नेकपा (एमाले) को केन्द्रीय कार्यालय र मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थली अगाडि समेत धर्ना दिँदै राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका थिए।
मुख्य मागहरू के-के हुन् ?
काठमाडौँ महानगरपालिका र विभिन्न निकायहरूले सडकपेटीमा व्यवसाय वा साङ्गीतिक प्रस्तुति गर्न रोक लगाउँदै बलपूर्वक धरपकड गरेपछि दृष्टिविहीनहरू सडक आन्दोलनमा उत्रिन बाध्य भएका हुन्। उनीहरूका प्रमुख मागहरू गरिखाने वातावरण सडकपेटीमा डुलेर धुपबत्ती बेच्न पाउनुपर्ने वा साङ्गीतिक प्रस्तुति (गाएर) मार्फत जीवनयापन गर्न पाउनुपर्ने। मौलिक हकको ग्यारेन्टी सरकारले दृष्टिविहीन नागरिकहरूको गाँस, बास, कपास, निःशुल्क शिक्षा, स्वास्थ्य र सम्मानजनक रोजगारीको उचित व्यवस्था गर्नुपर्ने।
धरपकड बन्द महानगर र सुरक्षाकर्मीबाट हुने गरेको अभद्र व्यवहार र सामान जफत गर्ने कार्य तत्काल रोकिनुपर्ने।
आन्दोलनकारीको भनाइ:सरकारले हामीलाई ठूला रोजगारी देउ भनेका छैनौँ। एकबारको जिन्दगीमा आत्मनिर्भर भएर गरिखाने अवसर मात्र मागेका हौँ। कि त हाम्रो गाँस-बासको ग्यारेन्टी गरियोस्, नत्र सडकमा व्यापार र कला प्रस्तुत गरेर बाँच्न दिइयोस् ।
अहिलेसम्मको अवस्था
आन्दोलन १२ औँ दिन पुग्दासम्म पनि सरकारले उनीहरूका माग सम्बोधनका लागि ठोस वार्ता वा पहल कदमी नगरेको भन्दै प्रदर्शनकारीहरूले आक्रोश व्यक्त गरेका छन्। विभिन्न दलका नेताहरूले मागप्रति ऐक्यबद्धता जनाउने आश्वासन दिए पनि व्यवहारमा कार्यान्वयन नभएको र माग पूरा नभएसम्म आन्दोलन नरोकिने अडान दृष्टिविहीन संघसंस्थाहरूले राखेका छन्।



