काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटक गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो।
गत वर्षको यसै महिनामा ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको वर्ष सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ आगमन भएको थियो । त्यसको आधारमा पनि यस वर्षको जुन महिनामा २२.०१ प्रतिशतले पर्यटक संख्या वृद्धि भएको हो ।
जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ जना आएका छन् । जुन कुल आगमनको ५२.८ प्रतिशत हिस्सा हो । मुख्य स्रोत बजारमध्ये भारतबाट मात्रै ४१ हजार ८०९ जना पर्यटक आएका छन् । अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो । जसमा चीनबाट ९ हजार ९९५ पर्यटक आगमन भएको छ भने जापानबाट ९२५, दक्षिण कोरियाबाट ९१४ तथा थाइल्यान्डबाट ५१४ पर्यटक नेपाल आएका छन् ।
युरोपबाट कुल ६ हजार ९५४ नेपाल भ्रमणमा आएका छन् । युरोपेली मुलुकमध्ये बेलायतबाट २ हजार ५ सय, जर्मनीबाट ५५७ र फ्रान्सबाट ५०२ पर्यटक आएका छन् । अमेरिकाबाट ११ हजार ८३६ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १२.९५ प्रतिशत हो । यस अवधिमा क्यानडाबाट १ हजार ११ र ब्राजिलबाट १०४ पर्यटक आएका छन् ।
त्यस्तै, ओसियानिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो । यस क्षेत्रमा अष्ट्रेलियाबाट २ हजार ८९६ तथा न्यूजिल्यान्डबाट १९४ पर्यटक आएका छन् । अफ्रिकाबाट २९२ र मध्यपूर्वबाट ६७४ पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाका अनुसार पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवद्र्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पर्यटक आगमनमा निरन्तर सुधार देखिएको हो ।
बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।



