काठमाडौं । गैरकानुनी रूपमा साउदी अरब बसेका ३ सय ७५ जना नेपालीले एक्जिट भिसा पाएका छन् ।
रियादस्थित नेपाली दूतावासले सार्वजनिक गरेको पछिल्लो सूचना अनुसार गत दुई महिना मे र जुनमा ३ सय ७५ जना गैरकानुनी रूपमा बसेका नेपालीले एक्जिट भिसा पाएको जनाइएको छ । दूतावासका अनुसार एक्जिट भिसा लागेको व्यक्तिले ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ । एक्जिट भिसाको प्रक्रिया निःशुल्क हुने दूतावासले जनाएको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट भने व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ ।
साउदी अरबमा आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकालाई स्वदेश फर्किने भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ । दूतावासका अनुसार साउदीमा “इकामा” को म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको अवस्था छ, भने एक्जिट भिसाका लागि आवेदन दिन सक्छ ।
इकामाको म्याद भएकाको एक्जिट भिसा प्रोसेसिङ गर्न नमिल्ने दूतावासले प्रस्ट पारेको छ ।यसैगरी, कुनै केस वा जरिमाना तिर्नुपर्ने बाँकी छ, भने त्यो क्लियर नहुँदासम्म एक्जिट भिसा प्राप्त गर्न नसकिने दूतावासले जनाएको छ । एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमनसँग हुन्छ । जुन ठाउँबाट आफ्नो इकामा बनेको हो, त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट एक्जिट भिसाका लागि प्रोसेसिङ गर्नुपर्ने दूतावासले सबैमा अनुरोध गरेको छ ।
पछिल्लो समय साउदी अरबमा नेपाली कामदारले नेपालमा गरिएको सम्झौता अनुसारको काम अनि तलब नपाएपछि कम्पनी छाडेर गैरकानुनी तरिकाले बस्ने क्रम बढेको छ । यसरी गैरकानुनीरुपमा बस्दा त्यहाँको स्थानीय प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउने व्यवस्था छ ।



