काठमाडौँ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै निजी अस्पताल, मेडिकल कलेज र क्लिनिकहरूमा अनिवार्य रूपमा व्यवस्थित स्तनपान कक्ष स्थापना र सञ्चालन गर्न निर्देशन दिएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले हिजो एक परिपत्र जारी गर्दै यो निर्णय तत्काल कार्यान्वयन गर्न भनेको हो। महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्यायद्वारा हस्ताक्षरित निर्देशनमा, "स्तनपान गराइरहेका आमाहरूले सार्वजनिक स्थल, स्वास्थ्य संस्था र कार्यस्थलहरूमा सहज रूपमा स्तनपान गराउन नपाएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यो कदम चालिएको" उल्लेख छ ।
'स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि २०८०' को पालना अनिवार्य यो व्यवस्था 'स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि, २०८०' बमोजिम अनिवार्य गरिएको हो। उक्त कार्यविधिले स्तनपानलाई प्रवर्द्धन, संरक्षण र सहयोग गरी बालबालिकाको समग्र विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
निर्देशन अनुसार, सबै निजी स्वास्थ्य संस्थाहरूले कार्यविधिमा तोकिएका न्यूनतम मापदण्डहरू पूरा गर्नुपर्नेछ। जसमा आरामदायी कुर्ची, हात धुने ठाउँ, गोपनियता, स्तनपान सम्बन्धी जानकारीमूलक सामग्री, र सम्भव भएसम्म दूध भण्डारणको व्यवस्था हुनुपर्छ।
अनुगमन र कारबाहीमन्त्रालयले यो निर्देशनको प्रभावकारी अनुगमन गर्ने र पालना नगर्ने संस्थाहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ। यसअघि धेरै सरकारी कार्यालय र ठूला अस्पतालहरूमा समेत स्तनपान कक्ष नाम मात्रको वा अव्यवस्थित रहेको गुनासो आइरहेका बेला निजी क्षेत्रका लागि यो निर्देशन जारी भएको हो।
नेपालमा सुरक्षित र पूर्ण स्तनपान गराउने आमाहरूको संख्यामा कमी आइरहेको र बजारमा पाइने आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री बढिरहेको पृष्ठभूमिमा यो नयाँ व्यवस्थाले स्तनपानलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।



