काठमाडौं । सरकारले आगामी साउन महिनाभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान रोपाइँ र अन्य बालीका लागि आवश्यक पर्ने मलको अभाव हुन नदिन ठूलो परिमाणमा मल आयात प्रक्रिया अघि बढाइएको हो।
मन्त्रालयले विभिन्न चरणमा युरिया, डीएपी र पोटास मल आयात भइरहेको जनाएको छ। हालसम्म केही परिमाणको मल देशका विभिन्न जिल्लामा वितरण भइसकेको र बाँकी मल साउनभित्र नेपाल आइपुग्ने लक्ष्य राखिएको छ।
सरकारले किसानलाई समयमा मल उपलब्ध गराउन आपूर्ति व्यवस्थापनलाई तीव्र बनाइएको बताएको छ। विगतका वर्षमा देखिएको मल अभावको समस्या दोहोरिन नदिन यसपटक पर्याप्त परिमाणमा रासायनिक मल भित्र्याउने तयारी गरिएको मन्त्रालयको भनाइ छ।
कृषि क्षेत्रका सरोकारवालाले भने आयातसँगै वितरण व्यवस्थालाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्, ताकि किसानले आवश्यक समयमा सहज रूपमा मल प्राप्त गर्न सकून्।



