काठमाडौं । विगत ५ महिनादेखि इराकमा बन्दी जीवन विताइ रहेका ५ नेपाली महिला विचल्लीमा परेका छन् ।
आर्थिक अवस्था नाजुक भएकै कारण धेरै पैसा र राम्रो कामको आसामा इराक पुगेका मकवानपुरकी शान्ति माया गोले, चन्द्रकुमारी गुरुङ, मञ्जु वाइबासहितका ५ जना नेपाली महिलाहरु विचल्लीमा परेका हुन् । मासिक ४० हजार रुपैयाँ कमाइ हुने प्रलोभनमा मकवानपुरकै बिना लामामार्फत उनीहरु दुबई हुँदै इराक गएका थिए ।
घरको काम गर्ने भनेर उनीहरुलाई भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई हुँदै इराक पुर्याइयो । त्यहाँ उनीहरुलाई घरेलु कामदारहरु ‘सप्लाइ’ गर्ने कम्पनी ‘बर्जा कोस्क’ मा पुु¥याइयो । त्यहाँ पुर्याइएपछि उनीहरुलाई बाहिर कतै निस्कन नदिइ एजेन्टले मोवाईल र पासपोर्टहरु समेत खोसेर राखेको पिडीत शान्ति माया गोलेकी पति जोनले बताए । उनका अनसार बन्धक बनाइएका शान्तिसहित महिलालाई एजेन्टले स्वदेश फर्किन दिएका छैनन् । उल्टै, एक जना बराबर छ लाख रुपैयाँ दिएमात्र घर फर्काइदिने भनिरहेका छन् ।
आर्थिक अवस्था नाजुक रहेका उनीहरुको त्यतिधेरै रकम तिर्ने स्थिति छैन । श्रीमतीको उद्धारको लागि उनले नेपाल सरकार समक्ष आग्रह गरेका छन् । भन्छन्– ‘समस्या भएर नै कमाउन भनेर विदेश पठाएको’, उनले भने, ‘दुःख दियो, दियो, उल्टै पैसा मागिरहेको छ, हामीले त्यत्रो पैसा कहाँबाट ल्याउने ’ ?
जोनले श्रीमतीलाई इराक पु¥याउने बिना लामाविरुद्ध दुई महिनाअघि नै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिएपनि उनी पक्राउ परेकी छैनन् । सरकारले श्रमिकको सुरक्षाको संवेदनशीलतालाई हेरेर युद्धग्रस्त राष्ट्र इराकमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाए पनि दुबइको बाटो भएर नेपालीलाई इराक पु¥याइरहेका छन् ।
तथ्यांक अनुसार अहिले इराकमा २० हजार नेपाली श्रमिकहरु रहेका छन् । २०६१ सालमा इराकमा १२ नेपालीको हत्या भएपछि सरकारले इराकमा जान प्रतिबन्ध लगाएको थियो । तर वैधानिक हिसाबले जान सरकारले प्रतिबन्ध लगाएका बेला इराकमा गैरकानुनी रुपमा कामदार पठाउन मानव तस्करहरु सक्रिय भएका छन् ।



