काठमाडौँ । बर्डफ्लु सङ्क्रमण काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट,काभ्रेपलाञ्चोक जिल्लामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि करिब ४० हजार हाँस र कुखुरा नष्ट गरिएको छ। पशु सेवा कार्यालयका अनुसार जिल्लाका विभिन्न व्यावसायिक फार्ममा बर्डफ्लु देखिएपछि थप संक्रमण फैलिन नदिन नियन्त्रणका उपायस्वरूप हाँस, कुखुरा तथा तिनका अण्डा र दानासमेत नष्ट गरिएको हो।
सङ्क्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ। पशु प्राविधिक टोलीले फार्महरूमा निगरानी बढाएको छ भने अन्य फार्म सञ्चालकलाई पनि जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित निकायले किसानलाई अनावश्यक रूपमा त्रसित नहुन आग्रह गर्दै रोग नियन्त्रणका लागि आवश्यक कदम चालिएको जनाएको छ। साथै, कुनै पनि स्थानमा कुखुरा वा हाँसमा अस्वाभाविक मृत्यु देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ।
बर्डफ्लुका कारण जिल्लाका कुखुरा पालक किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ। प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।



