रास्वपा महाधिवेशनले चितवनमा गरायो ५० करोडभन्दा बढीको कारोबार
काठमाडाैँ । चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनका कारण चितवन र आसपासका क्षेत्रमा रु ५० करोडभन्दा बढीको आर्थिक कारोबार भएको छ. झण्डै एक सातासम्म देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक, नेता तथा शुभेच्छुकहरूको ठूलो उपस्थितिले गर्दा स्थानीय व्यापार व्यवसाय उल्लेख्य रूपमा चलायमान बनेको हो.
महाधिवेशनको आर्थिक प्रभाव र कारोबारको मुख्य विवरण यसप्रकार छ:
आवास र खानपानमा करोडौँ खर्च
आवासमा मात्र २० करोड: महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि तथा शुभेच्छुकहरूका कारण भरतपुर, सौराहा, पूर्वी चितवन र नवलपरासीको गैँडाकोटसम्मका होटलहरू भरिभराउ भएका थिए। आवास व्यवस्थापन उपसमितिका अनुसार प्रतिनिधिहरूले आवासमा मात्रै करिब २० करोड रुपैयाँ खर्च गरेका छन्।
एकैदिन २० हजारसम्मको बास: महाधिवेशनको उद्घाटन र त्यसको भोलिपल्ट चितवनमा एकैदिन झण्डै २० हजार जनासम्म मानिस होटलहरूमा बसेको तथ्याङ्क छ।
पार्टीको भोजन खर्च ४ करोड: महाधिवेशन प्रतिनिधिका लागि चार दिनसम्मको खानाको व्यवस्था पार्टीले नै गरेको थियो, जसमा मात्रै ४ करोड रुपैयाँभन्दा बढी खर्च भएको जनाइएको छ।
चलायमान बन्यो स्थानीय बजार
कृषि तथा दुग्ध उत्पादनको रेकर्ड खपत: होटल तथा रेस्टुरेन्टहरूमा मानिसको चाप बढेसँगै स्थानीय क्षेत्रमा दुग्धजन्य पदार्थ, माछा, मासु, अण्डा र फलफूलजस्ता कृषिजन्य उत्पादनको खपत ह्वात्तै बढेको उद्योग वाणिज्य संघ चितवनले जनाएको छ।
यातायात र पर्यटन क्षेत्रलाई लाभ: जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाहिरबाट मात्रै करिब २ हजार २०० साना तथा ठूला सवारीसाधन चितवन भित्रिएका थिए। यसका साथै पहिलो पटक चितवन पुगेका धेरै नेता कार्यकर्ताले स्थानीय पर्यटकीय गन्तव्यहरूको समेत भ्रमण गरेका छन्।



