काठमाडौँ । नेपालमा हरेक दिन औसत ६ जनाले यो देशको नागरिकता त्यागि रहेका छन् ।
गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ११ महिना अर्थात् गएको साउनदेखि जेठसम्म १ हजार ३४५ जनाले नेपालको नागरिकता त्यागेका हुन् । यो संख्या चालू आर्थिक वर्षमा धेरै संख्यामा हो ।गत आर्थिक वर्ष जम्मा २३७ जनाले नागरिकता त्यागेका थिए ।
यसका साथै गएको असोज ३० बाट सरकारले गैह्रआवासीय नेपाली नागरिकता दिन थालेको थियो । यो ११ महिनामा २८०९ जनाले यस प्रकारको नागरिकता लिइसकेका छन् ।नागरिकता त्याग्नेमात्रै होइन,नेपालीहरु संसारका धेरै देशमा स्थायी आवास अनुमति पत्र (पीआर) लिएर पुगेका छन् ।सरकारी आँकडा अनुसार वितेको एक वर्षमा ७० हजारभन्दा धेरै नेपालीले संसारका ११० देशमा पीआर लिएर गएका छन् ।
यसमध्ये सबैभन्दा धेरै मानिसहरुको रोजाइमा अमेरिका देखिएको छ । त्यसपछि ब्रिटेन, हङकङ, अस्ट्रेलिया, जापान, क्यानडा, पोर्चुगल, जर्मनी, न्यूजिल्याण्ड र संयुक्त अरब इमिरेट्स मूलतः (दुबई) छन् । यस्ता विकसित मुलुकमात्रै होइन, आफ्नै छिमेकी भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का र भुटानमा पनि नेपालीहरु पीआर सहित पुगेका छन् ।
अस्थायी आवासको अनुमति लिएर विदेशिनेहरुको संख्या पनि ब्यापक मात्रामा बढेको छ । यस प्रकारको अनुमति पाउनेहरुमध्ये अधिकतर अस्ट्रेलिया र जापानमा छन् । त्यससँगै अमेरिका, ब्रिटेन, पोर्चुगल, संयुक्त अबर, हङकङ, भारत, जर्मनी, कतारजस्ता दर्जनौं देशमा नेपालीहरुले अस्थायी आवासीय अनुमति पाएका छन् ।



