काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकका ७२ वर्षीय घिरेन राजवंशीको घरको तेस्रो तलाबाट हाम्फालेर मृत्यु भएको छ ।
आज बिहान करिब ५ः३० बजे श्रीमान्–श्रीमतीबीच घरायसी विवाद भएको थियो। विवादका क्रममा घिरेनले ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले प्रहार गरी घाइते बनाएका थिए।
घाइते गंगामुनीलाई उपचारका लागि तत्कालै बिर्तासिटी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। उनको पेटमा चोट लागेको भए पनि अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।
श्रीमतीमाथि आक्रमण गरेलगत्तै घिरेनले आफ्नै घरको तेस्रो तलाबाट हाम्फालेका थिए। हाम्फाल्दा उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई पनि उद्धार गरी बिर्तासिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहान करिब ६ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलको मुचुल्का तयार गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



