काठमाडौँ । झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडक खण्डमा खेत जोतेर सडकमा निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।
शुक्रबार दिउँसो करिब १२ बजे सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे.४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे.१त ७४०४ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक २० वर्षीय समिर अली, उनकी ५ वर्षीया छोरी हाजिरा खातुन र ४५ वर्षीया नुरेश सादेवी घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उपचारका लागि कनकाई अस्पताल, सुरुङ्गा लगिएकोमा चिकित्सकले समिर अली र उनकी छोरी हाजिरा खातुनलाई मृत घोषणा गरेका थिए।
गम्भीर घाइते नुरेश सादेवीलाई थप उपचारका लागि बी एन्ड सी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर, मोटरसाइकल तथा ट्याक्टर चालक ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापा ले जनाएको छ।



