काठमाडौं । विश्वप्रसिद्ध नेपाली सेफ सन्तोष साहलाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
गएको शुक्रबार (जेठ २९ गते/जुन १२) उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई जनकपुरबाट पक्राउ गरेको थियो। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले उनलाई सोमबार (असार १ गते/जुन १५) मात्रै अदालतमा उपस्थित गराइएको हो ।
यो घटनाको मुख्य विवरण यस प्रकार छन ।
आरोप : काठमाडौँको गैह्रीधारामा रहेको एउटा रेस्टुरेन्ट खरिद गर्ने क्रममा काटिएको बैंकिङ चेक बाउन्स (खातामा पैसा नभएको चेक) भएको र ठगी गरेको आरोप उनीमाथि छ ।
जाहेरीकर्ता : शकुन्तला अधिकारी (थापा) ले आफूलाई १ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी नदिएको भन्दै साहविरुद्ध बैंकिङ कसुर र ठगीको जाहेरी दिएकी थिइन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह र उनका दाजु ५८ वर्षीय नारायण साह सुडीलाई शनिबार जनकपुरको रामानन्द चोकबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रहरीका अनुसार यसअघि दुवै पक्षबीच आपसी सहमतिमा पैसा तिर्ने म्याद तोकेर छलफल गराइए पनि सहमति बमोजिम रकम भुक्तानी नभएपछि यो कानूनी प्रक्रिया अघि बढेको हो। काठमाडौँ जिल्ला प्रहरी परिसरले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।
बेलायतको प्रसिद्ध टेलिभिजन कार्यक्रम 'मास्टरशेफ: द प्रोफेशनल्स' मा उपविजेता बनेर नेपाली तथा मिथिला परिकारलाई विश्वमाझ चिनाउन सफल सेफ साह हाल 'मिथिला थाली' रेस्टुरेन्ट चेन सञ्चालन गर्दै आएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।



