काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा आज चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दैछन्। नेपाल र चीनबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ यो भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चीन बसाइका क्रममा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग विशेष द्विपक्षीय वार्ता गर्नेछन्। उक्त भेटमा नेपाल-चीन सम्बन्धका विविध आयाम, आपसी हित र सहकार्यलाई अझ सबल बनाउने विषयमा गहन छलफल हुनेछ। यसका साथै उनले चीन सरकारका अन्य उच्चपदस्थ अधिकारीहरूसँग पनि छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।
नेपालमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यका साथ बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने विशेष 'लगानी सम्मेलन' मा मन्त्री खनाल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। सो क्रममा मन्त्री खनालले चीनका अग्रणी उद्योगी, व्यवसायी तथा लगानीकर्ताहरूसँग नेपालको व्यावसायिक वातावरण र लगानीका सम्भावित क्षेत्रहरूबारे केन्द्रित रहेर छलफल गर्नेछन्।
बेइजिङस्थित नेपाली दूतावासले मन्त्री खनालको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा उनी सरिक हुनेछन्। सो अवसरमा उनले त्यहाँ रहेका नेपाली डायस्पोरा (समुदाय) सँग भेटघाट र अन्तर्क्रिया गर्नेछन्।
चार दिनको भ्रमण पूरा गरी परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।



