काठमाडौं । कुवेतले आफ्नो मुलुकमा अवैध रुपमा बसेका आप्रवासीलाई देश छाड्न वा आफ्नो स्थिति अपडेट गर्न दिएको तीन महिनाको म्याद सकिएपछि पुनः थप गरेको छ ।
तीन महिनाको भिसा ‘एम्नेस्टी’ हिजो आइतबार सकिएको हो। तर यस अवधिलाई पुनः लम्ब्याएर ३० जुनसम्म पु¥याइएको जनाइएको छ । कुवेतको गृह, उपप्रधान तथा रक्षा एवं आन्तरिक मामिलामन्त्री फहाद अल युसेफको निर्देशनमा पुनः म्याद थपिएको हो ।
ईदअल अजहाको आधिकारिक बिदाको साथमा आएको र रेसिडेन्सी कानुनको उल्लंघन गर्ने आप्रवासीहरू जो देश छोड्न वा आफ्नो स्थिति समायोजन गर्न चाहनेहरूका लागि म्याद थपिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।जरिमाना तिर्न नसक्ने जो कोही स्वतन्त्र रूपमा र बिनाजरिमाना अन्तर्राष्ट्रिय बन्दरगाहमार्फत देशबाहिर जान सक्छन् ।
रेसिडेन्सी कानुनको उल्लंन गर्ने र माथि उल्लिखित अनुग्रह अवधिभित्र आफ्नो स्थिति परिमार्जन नगर्ने वा देश छोड्नेहरू कानुनी रूपमा तोकिएको दण्डको अधीनमा हुनेछन् ।
उनीहरूलाई बस्न अनुमति दिइनेछैन र देशबाट निकालिने र कालोसूचीमा राखिनेछ । कुवेत सरकारले दिएको यो आममाफीबाट १ लाख २० हजारभन्दा बढी कानुन उल्लंघन गर्ने विदेशीहरू लाभान्वित हुने बताइएको छ । गत वर्ष मन्त्रालयले स्वदेश फर्कन नपाउनेगरी ४२ हजार रेसिडेन्सी ऐन उल्लंघन गर्नेलाई देश निकाला गरेको थियो ।
तीन महिनाको अवधिमा स्वदेश फर्कनका लागि ३५ हजार बढीले निवेदन दिएका छन् ।अझै समय थप गरेकाले यस समयमा कुवेतमा गैरकानुनी रूपमा बस्नेहरूले बिनाकागजात र जरिमाना देश छोड्न सक्छन् ।
अहिले कुवेतको केन्द्रीय कारागारमा ५७ जना नेपालीले जेल जीवन बिताइरहेका छन् ।जेल सजाय सकिएपछि कुवेतले पुनः फर्कन नपाउनेगरी डिपोर्ट गर्दै आएको छ ।



