काठमाडौं । वैदेशिक रोजगारको श्रम स्वीकृतिका लागि अनिवार्य गरिएको म्यादी जीवन बीमामार्फत बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको १० महिनामा मात्रै २ अर्व ५८ करोड रुपैयाँ आर्जन गरेका छन् । यसरी हेर्दा नीति निजी क्षेत्रका जीवन बीमा कम्पनीहरूका लागि म्यादी जीवन बीमा नाफा आर्जनको बलियो स्रोत बनेको छ ।
हाल नेपालमा ११ वटा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगारका लागि म्यादी बीमा पोलिसी बिक्री गरिरहेका छन् । जम्मा १४ मध्येका ११ वटा ती बीमा कम्पनीहरुमा प्रभु लाइफ, सूर्यज्योति लाइफ, नेपाल लाइफ, सन नेपाल लाइफ, सानिमा लाइफ, सिटिजन लाइफ, मेट लाइफ कम्पनी, आइएमई लाइफ, रिलायवल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेका छन् ।
१६ देखि ६० वर्ष उमेर समूहका कामदारहरुको १ देखि ५ वर्षसम्मको बीमा गरी वैशाख महिनामा मात्रै ११ वटा बीमा कम्पनीले ७१ हजार ७३ वटा वैदेशिक रोजगार बीमालेखबाट २० करोड ७१ लाख ७१ हजार रुपैयाँ कमाएका छन् । जीवन बीमा कम्पनीहरुले मासिक सरदर २ करोड रुपैयाँ हाराहारीमा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट मात्रै कमाउने गरेका छन् ।
वैदेशिक रोजगारीको लागि साउदी अरेबिया, कतार र यूएईसहित खाडीका देश र मलेसिया जाने कामदारहरूले म्यादी बीमाबापत १ हजार ५ सयदेखि ४ हजारसम्मको बीमा गर्नुपर्ने व्यवस्था छ । यस्तै दक्षिण कोरिया र इराजरायल जाने कामदारले २ हजार ५ सयको बीमा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति २ वर्षको हुने भएपनि खाडी मुलुक र मलेसिया जाने कामदारको श्रम स्वीकृतिभन्दा १ वर्ष बढी अवधिको म्यादी बीमा गराउँदै आएका छन् ।



