Oct 28 2026 | २०८३ कार्तिक १२ गते

श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरौं : राष्ट्रपति पौडेल

श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरौं : राष्ट्रपति पौडेल

शुक्रवार, जेठ ३२ २०८१
  • काठमाडौं । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेका छन् । 
     
    स्वीटजरल्याण्डको जेनेभामा शुरु भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजित एक कार्यक्रमम राष्ट्रपति पौडेलले उक्त धारणा राखेका हुन् ।  
     
    ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को बिहीबार उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा बोल्दै राष्ट्रपति पौडेलले विश्व समुदाय खास गरेर विगतदेखिका र हालका ठूला उत्सर्जनकर्ताहरु यो जिम्मेवारीबाट विमुख हुनु नहुने धारणा व्यक्त गरे ।  ‘हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन’, राष्ट्रपति पौडेलले सम्वोधनका क्रममा भने, ‘जलवायु परिवर्तनका नकारात्मक असरहरूको सन्दर्भमा जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गरिनुपर्छ ।’
     
    नेपालले कार्बन उत्सर्जनमा नगण्य योगदान दिए पनि जलवायु परिवर्तनको सबैभन्दा खराब असरहरूको मार खेपिरहेको, हिमालयहरूले आफ्ना हिउँ गुमाउँदै काला पहाडहरूमा परिणत हुन थालेको, हिमनदीहरू अभूतपूर्व परिमाण र गतिमा पग्लिरहेकोमा चिन्त व्यक्त गर्दै उनले जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण परिवार, समुदायको विस्थापन र जीविकोपार्जनमा हुने क्षतिले समस्या थप जटिल बनाएको बताए । 
     
    यसैबिच राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट भएको छ । भेटका अवसरमा हुंग्बोले आप्रवासी कामदारहरूको न्यूनतम तलब, सामाजिक सुरक्षासहित उनीहरूको सुविधा सुनिश्चित गर्न र श्रम गन्तव्य भएका मुलुकलाई जिम्मेवार बनाउन आइएलओले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भेटको क्रममा राष्ट्रपति पौडेलले बढ़्दो आप्रवासी कामदारका सन्दर्भमा न्यूनतम तलब, सामाजिक सुरक्षालगायतका सुविधासहित सुरक्षित, व्यवस्थित र मर्यादित श्रमको सुनिश्चितता जस्ता विषयमा चासो व्यक्त गरेका थिए । 
     
    नेपालले श्रमिक अधिकारलगायत छ वटा विषयगत क्षेत्रमा केन्द्रित रहेर व्यवसाय तथा मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्य योजना लागू गरेको बताउँदै उनले विधायिकी संरचना र संस्थागत व्यवस्थाको अभिवृद्धिमार्फत नेपाल सरकार अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुमोदित श्रम मापदण्डहरु (महासन्धी, प्रोटोकल तथा सिफारिसहरु) को प्रभावकारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको स्मरण गराएका थिए । यसै सिलसिलामा नेपालले अन्तर्राष्ट्रिय श्रम सङ्गठनका थप तीन वटा महासन्धि तथा प्रोटोकललाई अनुमोदनका लागि आवश्यक गृहकार्य गरिरहेको पौडेलले जानकारी गराएका थिए ।
     
    सो अवसरमा महानिर्देशक हुंग्बोले नेपालले आइएलओको कार्यक्रमका लागि चासो र समय दिएकोमा खुशी व्यक्त गरेका थिए । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार