काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ उनले रुसको पक्षमा युक्रेनविरुद्ध लड्दा पक्राउ पर्नुभन्दा आफूमाथि आत्मघाती हमला रोज्ने सैनिकहरूलाई नायकको संज्ञा दिएका छन् ।
सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार प्योङयाङमा आयोजित एक कार्यक्रममा किमले महान सम्मान जोगाउन बिना हिच्किचाहट आत्मबलिदान गर्ने सैनिकहरूको प्रशंसा गरेका हुन् । उनले यस्तो कार्यलाई सेनाको उच्चतम निष्ठाको रूपमा व्याख्या गरेका छन् ।
दक्षिण कोरियाको अनुमानअनुसार, उत्तर कोरियाले करिब १५ हजार सैनिकहरू रुसलाई सहयोग गर्न पठाएको छ, जसमा ६ हजारभन्दा बढी मारिएको हुन सक्ने बताइएको छ । यद्यपि उत्तर कोरिया वा रुसले आधिकारिक रूपमा यी तथ्याङ्क पुष्टि गरेका छैनन् ।
गुप्तचर एजेन्सीका अनुसार उत्तर कोरियाली सैनिकहरूलाई पक्राउ पर्नु भन्दा आत्महत्या गर्न निर्देशन दिइएको हुन्छ । उत्तर कोरियामा सैनिकहरू बन्दी हुनुलाई देशद्रोह मानिन्छ ।
यसअघि दक्षिण कोरियाली प्रसारक एमसीबीले युक्रेनमा पक्राउ परेका दुई उत्तर कोरियाली युद्धबन्दीबारे कार्यक्रम प्रसारण गरेको थियो । त्यसमध्ये एक सैनिकले आफूले आत्महत्या नगरेकोमा पछुतो लागेको बताएका थिए।
कार्यक्रममा रुसका रक्षा मन्त्री एन्ड्रे बेलौसोव र रुसी संसद्का सभामुख र व्याचेस्लाव वोलोडिनसमेत सहभागी भएका थिए । सन् २०२४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र किमबिच भएको सम्झौताअनुसार दुवै देशले एक अर्कामाथि आक्रमण भए सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यसबेला किमले उक्त सम्झौतालाई अहिलेसम्मकै सबैभन्दा बलियो भनेका थिए ।



