काठमाडौं । अमेरिका/इजरायल र इरानबीचको युद्ध मध्यपूर्व तथा खाडी क्षेत्रमा विस्तार भएपछि त्यहाँ भएका नेपाली त्रसित छन् । परराष्ट्र मन्त्रालयका अनुसार, मध्यपूर्व तथा खाडी क्षेत्रमा १७ लाख २९ हजारभन्दा बढी नेपाली छन् ।
इरानले मध्यपूर्व तथा खाडी राष्ट्रमा पनि आक्रमण गरेपछि ती देशको ट्रान्जिटमा रहेका नेपाली गन्तव्यतर्फ जान सकेका छैनन् । त्यतिमात्र होइन, ती देशमा काम गरिरहेका केही नेपालीले आफू असुरक्षित रहेको विवरण परराष्ट्र मन्त्रालयले उद्धारका लागि सञ्चालनमा ल्याएको वेब साइटमा टिपाएका छन् ।
पछिल्ला दिन यूएईबाट दैनिकजस्तो उडान भइरहेका छन् । कुवेतका आकाश भने पूर्णरूपमा बन्द छ । कतार र बहराइनबाट पनि उडान हुन सकिरहेको छैन ।
नेपाल सरकारले कुवेत, कतार र बहराइनमा रहेका नेपालीलाई साउदी अरेबिया हुँदै गन्तव्य राष्ट्र पठाउने प्रयास सुरु गरेको छ ।
“बहराइन, कतार र कुवेतमा रहेका नेपाली, जो स्वदेश फर्कन चाहन्छन्, उनीहरूलाई साउदी हुँदै नेपाल फर्कन आवश्यक प्रक्रिया मिलाइएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।
परराष्ट्र मन्त्रालयको निर्देशनमा कुवेत, कतार, बहराइन र साउदी अरेबियामा भएका नेपाली दूतावासहरूले यो प्रक्रिया सुरु गरेका हुन् ।
“बहराइन, कतार र कुवेतमा रहेका ११० जना नेपालीले साउदी हुँदै गन्तव्यतर्फ जान भिसाका लागि अनुरोध गर्नुभएको छ,” साउदी अरेबियाका लागि नेपाली कार्यवाहक राजदूत सृजना अधिकारीले जानकारी दिइन् । साउदी हुँदै गन्तव्यतर्फ जान आवेदन दिने अधिकांश बेलायत जाने छन् भने केही नेपाल फर्कने छन् ।
अमेरिका र इजरायलले गत फागुन १६ गते अचानक इरानमाथि आक्रमण सुरु गरेका थिए । त्यसपछि इरानले इजरायलमाथि प्रत्याक्रमण सुरु गरेको थियो ।
इरानले इजरायलमा मात्र होइन, मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार, कुवेत, ओमान, बहराइन, जोर्डन, इराकलगायतका देशमा रहेका अमेरिकी सैन्य बेसमा पनि आक्रमण गरिरहेको थियो ।



