काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता प्रयास तत्कालका लागि टरेको छ । केही दिनयता काठमाडौँमा एनआरएनएका अभियन्ताहरुबीच एकताको प्रयासस्वरुप घनिभूत छलफल भएपनि प्राविधिक विषयमा ठोस सहमति जुट्न नसकेसँगै एकता तत्कालका लागि टरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीसमेतले एनआरएनए मिलेर आए सहकार्य गर्न सहज हुने धारणा राखेपछि दुई समूहबीच एकताको प्रयास स्वरुप छलफल अघि बढाइएको थियो । हाल एनआरएनए महेश श्रेष्ठ र बद्री केसीको नेतृत्वमा दुई समूहमा छन । दुबै समूहबिच सहमति जुटाएर शनिबार परेको एनआरएनए दिवस (एनआरएनए डे) मनाउने भनिएपनि यसअघि भएको एकता महाधिवेशनको वैधानिकता, सहमति भए एकता महाधिवेशन कसको नेतृत्वमा गर्नेलगायतका विषयमा ठोस सहमति जुट्न नसकेको बताइएको छ ।
अध्यक्ष केसीले संस्थाको वृहत्तर हितका लागि सहमतिको प्रयास गरिएको बताउँदै अहिले सबै विषयमा सहमति नजुटेकाले एकताबद्ध रुपमा शनिबार एनआरएनए डे मनाउन नसकिएको बताए । उनले मुखले मात्रै एकता भनेकाले सम्भब नभएको श्रेष्ठ समुहको आरोप छ ।
यस्तै श्रेष्ठले पनि कतिपय विषय मिल्न बाँकी रहेको भन्दै आफू एकताकै पक्षमा रहेको बताए । दुई अध्यक्षले एकताबद्ध एनआरएनएको पक्षमा धारणा राखेपनि समूहभित्रकै केही अभियन्ताहरुलाई मनाउन नसक्दा सहमति जुट्न नसकेको समेत बताइन्छ। विशेषगरी दुबै समूहमा एनआरएनएहरुमै धेरैथरी मत राख्नेहरु रहेका छन् । पूर्वअध्यक्ष शेष घले समूहदेखि आरके शर्मा समूहलाई समेत मिलाएर लैजानुपर्ने चुनौतीमा श्रेष्ठ रहेका छन्, भने केसी समूहमै पनि धेरै गुट उपगुट लाई मिलाएर लैजानुपर्ने छ ।
श्रेष्ठ समूहका महासचिव बीआर लामाले त एकताका लागि वार्ता चल्दै गर्दा बद्री केसी समूहकै कारण एकता हुन नसकेको बताएका छन् । ‘बद्रीजीको कार्यकाल अक्टोबर १४ मा समाप्त हुँदैछ । हामीले उनीहरूलाई अनुरोध गर्यौँ कि अक्टोबर १४ मा नै हामीलाई कार्यभार हस्तान्तरण गरिदिनुहोस् (यद्यपि उहाँहरूको वैधता र कार्यकाल अदालतले निर्धारण गर्न बाँकी नै छ), हामी मे महिनामा निर्वाचित भएका भए तापनि, यसभन्दा अगाडिको अवधि लाई निर्वाचित भएर बसेको रूपमा मात्र लिइनेछ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामीले यो पनि स्पष्ट पार्यौँ कि सम्भव भएसम्म चाँडो (छ महिनाभित्र) महाधिवेशन आयोजना गरी अर्ली इलेक्सन गरिनेछ । तर पनि बद्रीजीहरू हाम्रो यो प्रस्ताव मान्न तयार भएनन्। हामीले उहाँहरूको दुई वर्षको अस्तित्व स्वीकारेपनि, उहाँहरूले हाम्रो छ महिनाको अस्तित्व स्वीकार्नुभएन ।’
उनले एकताको मन्त्र जपिरहँदैमा एकता नहुने भन्दै एकताको लागि सबै पक्षहरूको अस्तित्वलाई स्वीकार्नु जरुरी रहेको बताए । एकताका लागि हदैसम्मको प्रयास भएपनि सफल हुन नसकेको उल्लेख गर्दै उनले तर पनि एकताको ढोका अझै खुला रहेको बताए । यसरी एकताको प्रयास हुन नसकेपछि केसी समूहले शनिबार एनआरएनए डेको अवसरमा पशुपतिनाथ र स्वयम्भूमा पूजाको कार्यक्रम गर्यो भने संघको सचिवालयमा पत्रकार सम्मेलन पनि गर्यो । यस्तै श्रेष्ठ समूहले पनि स्वयम्भूमा शान्ति पूजा गर्दै ट्राफिक कन्ट्रोल रुम बग्गीखानामा कार्यक्रम पनि गर्यो । जहाँ श्रेष्ठ समूहले सीसीटीभी कन्ट्रोल रुम निर्माण गरेको छ । श्रेष्ठ समुहले एनआरएन डेको दिनमानै पशुपतिमा बृहत आरती सम्पन्न गर्यो ।



