एजेन्सी । माल्टाको एक होटलबाट सामान चोरी गरेको आरोपमा पक्राउ परेका दुई नेपाली घरायसी कामदारलाई त्यहाँको अदालतले सोमबार जेल सजाय सुनाएको छ ।
२६ वर्षीया संगीता घिमिरे र २७ वर्षीया मिना कार्कीले आफ्नो अपराध स्वीकार गरेपछि मजिस्ट्रेट लारा लान्फ्रान्कोको इजलासले यस्तो फैसला सुनाएको हो ।
उनीहरूलाई गम्भीर प्रकृतिको चोरी आरोप लगाइएको थियो । गत सेप्टेम्बर १३ मा सेन्ट जुलियन्सस्थित एमई माल्टा होटलको एक कोठाबाट उनीहरूले एउटा झोला चोरेको आरोप छ, जसमा ३५० युरो, केही स्मारिका र अन्य सामानहरू थिए ।
सीसीटीभी फुटेजमा ती महिलाहरू उक्त झोला बोकेर कोठाबाट बाहिर निस्कँदै गरेको देखिएको थियो, जसले गर्दा उनीहरू पक्राउ परेका माल्टाको एक सञ्चारमाध्यमले जनाएको छ ।
सुनुवाइका क्रममा कानुनी सहायता वकिलले अदालतलाई बहसका लागि बेन्च नजिक आउन अनुरोध गरेका थिए । बहसहरू सुनेपछि मजिस्ट्रेट लान्फ्रान्कोको इजलासले दुवै महिलालाई १२ महिनाको जेल सजाय तोकेको हो र दुई वर्षका लागि निलम्बित गरिएको छ । साथै उनीहरूलाई चोरी भएको ३५० युरो पीडितलाई फिर्ता गर्न पनि भनिएको छ ।



