काठमाडौं । नेपाली राजदूतावास अबुधावीले संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली श्रमिकहरूलाई आवश्यक नियम, कानुन पूर्ण पालना गर्न आग्रह गरेको छ।
मंगलबार राजदूतावासले एक सूचना जारी गर्दै यूएईमा कार्यरत नेपालीले स्थानीय नियम विपरीत हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको हो ।
हालै बढ्दै गइरहेका श्रमिकहरूबिचका समस्या, बैंकिङ, साइबर अपराध, ट्राफिक उल्लङ्घन, अवैध तथा अनधिकृत ऋण, व्यक्तिगत विवाद र सामाजिक सञ्जालमा गतिविधि सम्बन्धी समस्या समाधानका लागि सतर्कता अपनाउन अनुरोध गरेको हो।
पछिल्ला दिनमा केही नेपाली मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, अनुशासनहीन व्यवहार, गैरकानुनी लेनदेन, ट्राफिक उल्लंघन, साइबर अपराध लगायतका कारण कारबाहीमा परेको जानकारी राजदूतावासमा पुगेको उल्लेख गरिएको छ ।
राजदूतावासले नेपाली समुदायबीच ऐक्यवद्धता कायम गर्न सबै संघसंस्था र समाजहरूबीच पारस्परिक सम्बन्ध र भातृत्व कायम गर्न अनुरोध गरेको छ ।
राजदूतावासले समस्यामा परेका नेपालीले तुरुन्तै राजदूतावाससँग सम्पर्क गर्न र आवश्यक सहयोग लिन सक्ने जानकारी दिएको छ।




