काठमाडौं । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) जान प्रहरी रिपोर्ट चाहिने भएको छ।
नेपाली कामदारका लागि प्रमुख गन्तव्य बनेको यूएईले गत सोमबारदेखि भिजिट भिसा पूर्णतया बन्द गरे लगतै बुधबारदेखि कामदार (वर्किङ) भिसाका लागि पेस भएका निवेदनसमेत अस्वीकृत हुन थालेका थिए।
तर, पछिल्लो जानकारी अनुसार यूएईले कामदार (वर्किङ) भिसा चाहने नेपालीलाई भने प्रहरी प्रतिवेदन (Police Clearance Report) र राहदानीको कभरपेज अनिवार्य रूपमा पेस गरेपछि मात्रै भिसा दिने व्यवस्था मिलाएको छ।
यूएई सरकारले यसबारे आधिकारिक विज्ञप्ति ननिकाले पनि यो प्रक्रियाबाट भिसालाई सहज बनाउने संकेत आएको त्यहाँका रोजगारदाता कम्पनीहरु बताउछन्। तर भिजिट भिसामा कडाइ यथावत् छ।
स्रोतका अनुसार, यूएईले जेन-जी आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते जेल तोडफोड गरेर ठूलो संख्यामा फरार भएका कैदी वा थुनुवा विभिन्न मुलुक हुँदै त्यहाँ प्रवेश गर्ने सम्भावना रहेको ठानेर अस्थायी रूपमा भिजिट भिसा रोक्नुका साथै कामदार (वर्किङ) भिसामा पनि थप कडाइ गरेको हो।
वैदेशिक रोजगारीमा यूएई जान चाहने नेपालीलाई अबदेखि प्रहरी रिपोर्ट अपरिहार्य लिनु पर्ने भएको कारण हजारौँ नेपाली कामदार प्रभावित भएका छन्।कामदार भिसा प्रक्रिया सुरु गरिसकेका धेरैले नयाँ कागजातसहित पुनः निवेदन दिनुपर्ने भएको छ । जसले प्रक्रियामा समय र खर्च दुबै बढाउने भएको छ।



