काठमाडौं । अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको हो।
अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले निष्कासनमा परेका सबैलाई चार्टर विमानबाट बुधबार (सेप्टेम्बर ३) मा नेपाल ल्याउन लागेको हो ।
अध्यागमन स्रोतका अनुसार भोलि साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई लिएर अमेरिकाको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। निष्काशित हुनेहरू अधिकांश २६ देखि ३० वर्ष उमेर समूहका छन्।
निष्काशित हुनेहरूमा दुईजना बस्नेत,तीनजना भण्डारी, विश्वकर्मा, बोहरा, बुढाथोकी, छिनाल, डाँगी,कुँवर, खत्री र शाह थर भएका एक/एकजना छन्। यसैगरी दुईजना चौधरी, दुईजना कँडेल, दुईजना खड्का,छजना केसी र तीन जना ओलीसमेत निष्काशितको सूचीमा रहेका छन्।
यस्तै आचार्य, पुन, विके, गौतम, शेर्पा, सिंह,सुवेद, तामाङ र ठाडा थर भएका एक/एकजना पनि भोलि नेपाल आइपुग्नेछन्।
प्रहरीका अनुसार‘डिपोर्ट’ भएर आउनेहरु अधिकांश संगठित गिरोहलाई रकम बुझाएर तल्लो रुट (अवैध बाटो) बाट अमेरिका प्रवेश गरेका हुन् ।
ट्रम्प प्रशासन आएपछि आइसले २४ नोभेम्बर २०२४ सम्म ‘डिपोर्ट’ का लागि अन्तिम आदेश पाइसकेका तर पक्राउ नपरेकालाई पछिल्लो समय धरपकड गरी नियन्त्रणमा लिएर सम्बन्धित देशमा फिर्ता अभियान चलाएको हो ।



