काठमाडौं । क्ब्होलासोथार गाउँपालिकाका दुई दीर्घरोगीले उपचार खर्च पाएका छन् । हङकङ लमजुङ सेवा समिति, लमजुङले क्ब्होलासोथार गाउँपालिका– ४ का गमबहादुर गुरुङ र सोही पालिका– ७ चरागाउँकी आइतकुमारी गुरुङले पौने सात लाख बढीको उपचार खर्च पाएका हुन् ।
हङकङ लमजुङ सेवा समितिका संरक्षक एवम् संविधानसभा सदस्य जमिन्द्रमान घले, सो संस्थाका संस्थापक सदस्य एवम् बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामबहादुर गुरुङ र सो संस्थाको लमजुङ सम्पर्क समितिका अध्यक्ष एवम् रेडियो मस्र्याङदीका निर्देशक मीना गुरुङले संयुक्त रुपमा यहाँ आयोजित एक अनौपचारिक कार्यक्रममा जनही तीन लाख ४३ हजार ३५० रुपैयाँ उपचार सहयोग रकम पत्रकारहरूको रोहबरमा हस्तान्तरण गरिएको हो ।
सो रकम क्ब्होलासोथार गाउँपालिका– ४ का विरामी गमबहादुर गुरुङ आफैले र चरागाउँकी आइतकुमारी गुरुङका लागि उहाँका भाइ एवम् लोकगायक टसबहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो ।
५० वर्षीया आइतकुमारी गुरुङलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने गमबहादुर गुरुङ भिरबाट लडेको कारणले पक्षाघातको समस्या भोगिरहेका छन् । दिदीलाई मासिक रुपमा पाँच पटक सेक्ने र एक पटक केमो चढाउनु पर्ने, केमो चढाउनु अघि र पछि डाक्टरी जाँच अनिवार्य गर्नु पर्ने हुँदा मासिक ८६ हजार खर्च लाग्ने गरेको उनका भाइ टस गुरुङले बताए । उनका अनुसार गत चैतमा मात्र दिदीलाई क्यान्सर पुष्टि भएको थियो, शल्यक्रिया गर्न नमिल्ने भएको हुँदा सेक्ने र केमो चढाउने गर्नु परेको हो ।
उनले भने, ‘क्यान्सरको त पहिचान नै कठिन हुने रहेछ, नवौं पटकको परीक्षणमा बल्ल पहिचान भएको हो ।’ उनका अनुसार बुवा पनि ५६ वर्षकै उमेरमा क्यान्सरकै कारणले बित्नु भएको थियो ऐले दिदीलाई पनि त्यही समस्या दोहोरियो । उनले थप भने, ‘‘दिदीको उपचारमा चार लाख बढी खर्च भइसक्यो अझै ७– ८ महिना उपचार गर्नु पर्छ भन्ने डाक्टरको राय छ ।’
५२ वर्षीय गमबहादुर गुरुङले आफू भिरबाट लडेर टाउको, कम्मर लगायत शरिरका विभिन्न भागमा चोट लागेर पक्षाधात भएको बताए । ऐले पनि बारम्बार चेकअपमा गइरहनु पर्छ उनले भने । उनका अनुसार पोखरामा उपचार गर्न नसकेपछि काठमाडौं गएको हो । डेढ महिनाको अन्तरमा जचाउन जानु पर्छ ।
१९९८ मा हङकङ लमजुङ सेवा समिति, लमजुङ हङकङमा विभिन्न पेशा व्यवसाय गरी बस्ने लमजुङेहरूको स्थापना गरेको संस्था हो । त्यसले लमजुङमा आफ्नो सम्पर्क समिति २०७१ मा स्थापना गरेको हो । स्थापनाकालदेखि नै सो संस्थाले यस्ता मानवीय सेवाका अतिरिक्त शिक्षा, खेलकुदका क्षेत्रमा पनि सेवा गर्दै आएको लमजुङ सम्पर्क समितिका अध्यक्ष मीना गुरुङले जानकारी दिइन ।
उनका अनुसार सो संस्थाले मानवीय सेवा तथा विकासका कार्यमा सहयोगका लागि व्याज रकमबाट सहयोग गर्ने गरी ४४ लाख रुपैयाँको अक्षयकोष बनाइसकेको छ भने त्यो कोषलाई एक करोड बनाउने लक्ष्य रहेको छ ।



