Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

रूस र इरानबाट तेल नकिन्न अमेरिकाको आग्रह चीनले गर्‍यो ठाडै अस्वीकार

रूस र इरानबाट तेल नकिन्न अमेरिकाको आग्रह चीनले गर्‍यो ठाडै अस्वीकार

सोमवार, श्रावण १९ २०८२
  • काठमाडौं । अमेरिकाले रूस र इरानबाट कच्चा तेल खरिद गर्ने देशहरूमाथि कडाइ गरिरहेको छ । तर, चीनले अमेरिकाको आग्रहलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ ।

    चीन र अमेरिकाबीच व्यापार सम्झौतासम्बन्धी वार्ता जारी छ । दुवै देशबीच चाँडै सम्झौता हुने अपेक्षा गरिएको छ । तर, रूस र इरानबाट तेल खरिद गर्ने विषयमा चीनले कडा अडान लिएको छ ।

    images

    चीनको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा सेयर गरेको एउटा पोस्टमा लेखिएको छ “चीनले सधैँ राष्ट्रिय हितलाई ध्यानमा राखेर आफ्नो ऊर्जा आवश्यकताको आपूर्ति सुनिश्चित गर्नेछ ।”

    रूस र इरानबाट तेल खरिद गरेमा चीनमाथि १०० प्रतिशत कर लगाउने अमेरिकाले धम्की दिएको छ । यसबारे चीनको विदेश मन्त्रालयले भनेको छ, “दबाब र जबर्जस्तीबाट केही हासिल हुँदैन । चीनले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकास हितको दृढतापूर्वक रक्षा गर्नेछ ।”

    दुवै देशका अधिकारी स्टकहोममा व्यापार सम्झौतालाई अन्तिम रूप दिन जुटेका बेला चीनको यो प्रतिक्रिया सार्वजनिक भएको हो । चीनको कडा अडानमाथि कटाक्ष गर्दै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, “जब रूसबाट तेल खरिदको कुरा आउँछ, तब चीन आफ्नो सार्वभौमसत्तालाई धेरै गम्भीरतापूर्वक लिन्छ ।”

    रूस र इरानको तेलले युद्ध र आतंकवादलाई सहयोग : अमेरिका
    रूसबाट तेल खरिद गर्ने देशहरूले त्यहाँको सेनालाई सहयोग गरिरहेको अमेरिकाको भनाइ छ । रुसले युक्रेनमा युद्ध जारी राखेको छ ।

    यस्तै, इरानले तेल बिक्रीबाट प्राप्त रकमले पश्चिम एसियामा आतंकवादी संगठनलाई आर्थिक सहयोग गरिरहेको अमेरिकी आरोप छ । त्यसैले अमेरिका रूस र इरानको वित्तपोषण रोक्न चाहन्छ । अमेरिकाले भारतमाथि पनि यसनिम्ति २५ प्रतिशत कर र जरिवाना लगाउने घोषणा गरेको छ ।

    इरानको ८०–९० प्रतिशत तेल खरिद गर्दै चीन
    एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका प्रतिष्ठित फेलो ड्यानी रसेलले भने, “रूसबाट तेल खरिद जारी राख्नुले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिनियाँ राष्ट्रपति सी चिनफिङको रणनीतिक एकता कायम रहन्छ र चीनको आर्थिक लागतमा पनि उल्लेखनीय कमी आउँछ ।”

    उनले थपे, “बेइजिङ रूस र इरानबाट तेल खरिद नगर्ने जोखिम लिन सक्दैन । यो एक महत्त्वपूर्ण रणनीतिक ऊर्जा आपूर्ति हो । र, बेइजिङले यसलाई सस्तो मूल्यमा खरिद गरिरहेको छ ।”

    इरानले निर्यात गर्ने तेलको करिब ८० देखि ९० प्रतिशत चीनले खरिद गरिरहेको अनुमान गरेको छ । चीन रूसको पनि महत्त्वपूर्ण तेल ग्राहक हो । तर, यो सूचीमा चीन भारतपछि दोस्रो स्थानमा छ ।

    किभ स्कुल अफ इकोनोमिक्सको केएसई इन्स्टिच्युटका अनुसार, गएको अप्रिलमा चीनमा रूसी तेल आयात अघिल्लो महिनाको तुलनामा २० प्रतिशतले बढेर दैनिक १३ लाख ब्यारेलभन्दा बढी भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार