काठमाडौँ । वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन एक पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बोर्डले गरेका कामहरूबारे सो पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
उनका अनुसार बोर्डले गत आर्थिक वर्षमा एक हजार १८० नेपालीको शव मृतकको घरसम्म ढुवानी गरेको हो ।साथै बोर्डले एक हजार २५० जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान, ६९८ जना अंगभङ्ग/विरामी कामदारलाई आर्थिक सहायता प्रदान र २७५ जना कामदारका परिवारलाई स्वास्थ्य उपचारमा सहयोग गरेको जनाएको छ ।
सो अवधिमा तीन हजार ९९० जनालाई वैदशिक रोजगार सन्तती छात्रवृत्ति सहायता प्रदान गरेको छ भने ७० वटा अलपत्र परेको शव झिकाउने काम गरेको छ । बोर्डद्वारा एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जान चाहने १४ हजार ४५८ युवालाई सीपमूलक तालिम दिइएको छ । यसका साथै श्रमाधान कल सेन्टरको सफल सञ्चालन, टेलिमेडिसिन सेवा, र विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि सम्पन्न भएको बोर्डले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोर्डले आगामी कार्यक्रमबारे जनाए अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि बोर्डले पुराना कल्याणकारी तथा उद्धार कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रमहरू पनि अघि सारेको छ । संघीय र प्रदेश सांसदहरूका लागि वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै वैदेशिक रोजगारीबाट फर्केर सफल उद्यमी बनेकाहरूलाई सम्मान गर्न ‘रिटर्नी उद्यमी आइडल’ कार्यक्रम समेत सञ्चालन गर्नेछ ।
त्यस्तै वैदेशिक रोजगारका विषयमा कलम चलाउने पत्रकारहरूलाई पुरस्कृत गर्ने योजना समेत बोर्डले अघि सारेको छ ।बोर्डले चालु आर्थिक वर्षमा पुराना शववाहनको सट्टा दुईवटा नयाँ विद्युतीय शववाहन (एम्बुलेन्स) खरिद गर्ने योजना अघि सारेको छ ।



