काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय सुन्धारा समितिले २२ औं धान दिवसको अवसर पारेर सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
आउँदो असार १५ गते अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारेर तारकेश्वर नगरपालिका -१ स्थित शम्भु राइ फाँटमा धान दिवससहित संस्थाको १२ औं रोपाईं दिवस मनाउन लागेको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ गायक शम्भु राईको प्रमुख आथित्यतमा हुने उक्त धान दिवस तथा रोपाईं कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ कलाकारहरुको प्रस्तुतिसहित विभिन्न सांस्कृतिक कार्यक्रम हुने आयोजकका एक सदस्य सुक बहादुर गुरुङ सुब्बाले बताए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय सुन्धारा समितिका अध्यक्ष चेतन गोतामेका अनुसार उक्त दिन पन्चेबाजासहित असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो खेल्ने कार्यक्रम रहेको बताए । उनले यस कार्यक्रमले कृषकहरुलाई थप प्रोत्साहन मिल्ने भन्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम गर्दै जाने बताए । कार्यक्रममा सहभागी भइ मनोरन्जन लिन अध्यक्ष गोतामेले सबै स्थानियबासीलाई अनुरोध समेत गरेका छन् ।
२०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी नेपालमा २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
मुठी खाएर मुरी उब्जाउने महिनाको रुपमा मानिने असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले दहीच्यूरा खाई असार १५ मनाउँछन् । कामको चटारोले किसान थकित भएका बेलामा दहीचिउरा खाए शक्ति प्राप्त हुने विश्वास छ । दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।



