काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले असार तेस्रो साता साधारण सभा गर्ने तयारी गरेको छ । संघले आफ्नो स्थापना दिवसको अवसर पारेर साधारण सभाको तयारी गरेको हो ।
समयमै साधारण सभा हुन नसकेको अवस्थामा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चलगायतका संघसंस्थाले यसमा चासो व्यक्त गरेका छन् । संघलाई नयाँ गति र उर्जा दिन साधारण सभा समयमै सम्पन्न हुनुपर्ने मञ्चका अध्यक्ष धनलाल जैसीले बताए ।
महासचिव मेघनाथ भुर्तेलका अनुसार यसपटक संघको विधान संशोधनको महत्वपूर्ण काम गर्नुपर्ने र त्यससम्बन्धी गृहकार्य नसकिएका कारण साधारण सभा केही ढिलो हुन गएको हो । कार्यसमितिको कार्यकालको हालको दुई वर्षे अवधिमा एक वर्ष थप गरी ३ वर्षे बनाउने र संघलाई संघीय संरचनामा लैजाने तथा व्यवसायी भलाइ कोष सञ्चालन गर्ने गरी विधानमा संशोधनको गृहकार्यमा रहेको पनि भुर्तेलले बताए ।
संघ कार्यसमितिको हालको दुई वर्षे कार्यकालको पहिलो एक वर्ष अध्ययन र दोस्रो वर्षको आधा अवधि अर्को साधारण सभा र निर्वाचनको तयारीमा लगाउनुपर्ने देखिएका कारणले ठोस उपलब्धिमूलक काम गर्न समय नपाएका कारण कार्यकाल थप गर्नु परेको महासचिव भुर्तेलको भनाइ छ । विधान संशोधन भएमा वर्तमान कार्यसमितिले समेत अझै डेढ वर्ष काम गर्न पाउनेछ । उनले संघको विधान र मुलुकमा क्रियाशील अन्य गैरसरकारी संस्थाहरूका विधानमा फरक व्यवस्था रहेकाले त्यसको अध्ययन गरी एकरूपता ल्याउने काम पनि भइरहेको बताए ।
संघको अहिलेको विधानमा योग्य व्यवसायीलाई अध्यक्षको उम्मेदवार बन्न रोक लगाइ कार्य क्षमताका दृष्टिकोणले कमजोर भएपनि सीमित पूर्वपदाधिकारी व्यवसायी मात्रै अध्यक्षको उम्मेदवार बन्ने प्रावधान रहेकोले त्यसलाई सच्याउनुपर्ने आवश्यता रहेको भुर्तेलको भनाइ छ । अहिले संघको विधानमा अध्यक्षको उम्मेदवार हुन कम्तीमा एक कार्यकाल पदाधिकारी भइ काम गरेकोे हुनुपर्ने प्रावधान छ ।



