काठमाडौं । विदेशी संस्थामा सरकारले ११ अर्ब ५२ करोड संस्थागत सेयर लगानी गरेको रहे छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयको अनुसार सरकारले बहुराष्ट्रिय तथा क्षेत्रीय वित्तीय संस्थाहरू स्थापना हुँदादेखि त्यस्ता संस्थाहरूसँग सम्झौता गरी सेयर लगानी गर्दै आएको छ ।
एसियाली पूर्वाधार लगानी बैंक, सार्क विकास कोष, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैंकमा सरकारले लगानी गरेको छ । २०८० असारसम्मको अवधिमा सरकारको ११ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर लगानी भएको रहेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनमा सरकारले गर्ने सेयर वा ऋण लगानी सम्बन्धमा स्पष्ट एवं विस्तृत व्यवस्था रहेको देखिँदैन । बजेटमार्फत हुने यस्ता लगानी व्यवस्थित बनाउन सरकारले सेयर तथा लगानी नीति २०८१ जारी गरेको छ ।
सरकारले नेपालभित्र सार्वजनिक–निजी साझेदारीको अवधारणाअन्तर्गत कुनै बहुराष्ट्रिय कम्पनीले लगानी गर्न खोजेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्यममा सेयर लगानी गर्ने, द्विपक्षीय वा क्षेत्रीय सम्झौताअन्तर्गत कुनै व्यावसायिक काम गर्न स्थापित सङ्गठित निकाय भए त्यसमा लगानी गर्ने, नेपाल सदस्य रहेको अन्तरसरकारी बहुराष्ट्रिय निकायमा सेयर लगानी गर्ने उल्लेख रहेको छ ।
नेपाल सरकारबाट हुने सेयर तथा ऋण लगानीको स्वामित्व नेपाल सरकार, अर्थ मन्त्रालयको नाममा कायम गरिएको छ । नेपाल सदस्य रहेको अन्तरसरकारी बहुराष्ट्रिय निकायमा थप सेयर लगानी गर्न अर्थ मन्त्रालयले सक्ने छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको उपसचिव मुकुन्दप्रसाद पोखरेलको अनुसार यो नीति कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।



