काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिले पदबहाली ग्रहण गरेको छ । नयाँ वर्षको अवसरमा हिजो अर्थात् (१ वैशाख,सोमबार) संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले नवनिर्वाचित अध्यक्ष भुवनसिंह गुरुङलाई संघको निर्णय पुस्तिका हस्तान्तरण गरेका हुन्।
गत २९ चैतमा सम्पन्न संघको साधारणसभाले गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक भुवनसिंह गुरुङलाई संघको अध्यक्षमा निर्वाचित गरेको थियो । उनले निर्वाचनमा खसेको ८१३ मध्ये ४२८ मत प्राप्त गरेका थिए ।
पदबहालीपछि अध्यक्ष गुरुङको अध्यक्षतामा संघ कार्यसमितिको पहिलो बैठक पनि बसेको छ । बैठकले संघको कार्यसमितिको निर्वाचनका लागि उत्साहजनक रूपमा सहभागी भई मतदान गरेको, मतदाता र सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको भन्दै निवर्तमान कार्यसमितिलाई आभार तथा धन्यवाद व्यक्त गर्ने निर्णय गरेको महासचिव महेशकुमार बस्नेतले जानकारी दिए ।
संघका नवनिर्वाचित अध्यक्ष गुरुङले वैदेशिक रोजगार ऐन तथा नियमावलीमा परिवर्तन र सेवा शुल्क परिमार्जन जस्ता दीर्घकालीन सुधारका कामहरू भए पनि तत्कालका लागि व्यवसायीको इजाजत नवीकरणसँग प्रत्यक्ष जोडिएको संख्या सय समस्याको समाधान आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
पदबहाली कार्यक्रममा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, तृतीय उपाध्यक्ष बैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिमडोङ र कोषाध्यक्ष धनमाया सिँजाली तथा कार्यसमिति सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरुङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे र विद्यालक्ष्मी बज्राचार्यको उपस्थिति थियो ।
गुरुङ संघको पूर्वद्वितीय उपाध्यक्ष भइसकेका व्यवसायी हुन् । उनले आगामी २ वर्ष संघलाई नेतृत्व प्रदान गर्ने छन् ।



