काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बेरोजगार समस्याको समाधानका लागि सरकारले रोजगार बैंकको अवधारणा ल्याएको बताएका छन् ।
मधेशको प्रादेशिक राजधानी जनकपुरधाममा गत शनिबार आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले बेरोजगारी समस्याले ठूलो संख्यामा मधेशका युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको भन्दै त्यसतर्फ रोजगारदाताले ध्यान दिनुपर्ने बताए । उनले मधेशबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जाने बाध्यता अन्त्य गर्नका लागि स्थानीयलाई रोजगारी दिन उद्योग व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।
नेपालबाट भारत जाने श्रमिकहरूको तथ्यांक संकलनको काम पनि सरकारले गरिरहेको अर्यालले बताए । आन्तरिक तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या परे पैसा नलाग्ने ११४१ श्रमाधान कल सेन्टरमा गुनासो राख्न पनि उनले आग्रह गरे ।
मेला आज आइतबारसम्म चल्ने छ । मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थाहरूलगायत ३५ भन्दा बढी स्टलहरू राखिएको छ । मेलामा श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर, सुरक्षित आप्रवासन सामी, रेमी श्रमाधानलगायत सरकारी स्टलहरू छन् ।



