काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ गते अर्थात् (भोलि) शुक्रबार हुने निर्वाचनका लागि २ वटा छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमीएका छन् ।
नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र नेकपा माओवादी (केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्ष पदमा उम्मेदवारी दिएका संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक भुवनसिंह गुरुङ प्यानल र नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल नेतृत्वको प्यानलमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको असन्तुष्ट समूह र नेकपा एकीकृत समाजवादी पार्टीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन आबद्ध संयुक्त प्यानलबाट नरेश गेलाल प्रतिस्पर्धामा छन् ।
दुवै प्यानल प्रचारप्रसारको अन्तिम चरणमा पुगेका उम्मेदवारहरु बताउछन् । दुवै समूहले बुधबार आफ्नो अन्तिम चुनावी सभा आयोजना गरेका छन् । बुधबार गेलाल समूहले बसुन्धरा व्याङक्वेटमा र गुरुङ समूहले यति व्याङक्वेट बसुन्धरामा अन्तिम चुनावीसभा आयोजना गरेका हुन्। चुनावी प्रतिस्पर्धामा रहेका दुवै प्यानलले आफ्नो पक्षमा जित सुनिश्चित भएको दाबी गरेका छन् ।
प्यानल बाहिर रहेर सचिवमा उम्मेदवारी दिएका व्यवसायी ईश्वर सापकोटा र प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका अख्तर हुसेनले पनि व्यवसायीको हितमा काम गर्ने भन्दै मत मागिरहेको बताएका छन् । चुनावमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि स्वतन्त्रसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्षका उम्मेदवार भूवनसिंह गुरुङले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारसँग छलफल र समन्वय गरेर समस्याको समाधानका लागि दिनरात खटिने प्रतिबद्धता जनाए । उनले आफू नेता भएर नभई, व्यवसायीको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाउँदै कुनै पनि आवरणमा हुने सिन्डिकेटको विरोधमा काम गर्ने पहिलो प्रतिबद्धता रहेकोे बताए ।
यस्तै अध्यक्षका अर्का प्रतिस्पर्धी उम्मेदवार नरेश गेलालले व्यवसायीमा समस्याको छिटो समाधान गर्ने आवश्यकताअनुसार प्रमुख २ घटकको तालमेल र अन्य क्षेत्रीय संस्था तथा व्यवसायीको समर्थनमा आफू चुनावी मैदानमा आएको बताएका छन् । संघको वर्तमान कार्यसमितिले व्यवसायीको पक्षमा ऐतिहासिक काम गरेकाले त्यसको निरन्तरताका रूपमा आफ्नो प्यानल आएको भन्दै आफ्नो नेतृत्वले गर्न बाँकी काम संघमा निर्वाचित भएको ३ देखि ६ महिनाभित्र टुंगोमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे।
यसपटकको निर्वाचनमा २०० भन्दा बढी नयाँ ब्याबसायी थपिएको र राजनितिक दलका उम्मेदवारहरु मिलेर संयुक्त प्यानल बनाएकाले निर्वाचनको अनुमान गर्न सहज नभएको जानकारहरु बताउँछन् । ९०३ मतदाता रहेकोे संघमा यसपटक कडा प्रतिस्पर्धा हुर्ने निश्चित छ ।
यसभन्दा अघि संघको फागुन २ गते ३० औँ र ३१ औँ साधारणसभा बोलाइएको थियो । तर, उम्मेदवार विवादले रोकिएको थियो ।



