Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कतारमा श्रमिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कतारमा श्रमिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

दोहा, कतार । कतारस्थित नेपाली दूतावासले श्रमिक सुरक्षासम्वन्धी चेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ठूलो संख्यामा नेपाली कामदार उपस्थित भएको उक्त कार्यक्रम सनैयास्थित फुलबारी रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको हो । 
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा दूतावासका श्रम काउन्सिलर टिकामणि न्यौपानेले कामदारका अधिकार र जिम्मेवारीसहित कार्यक्रमको बारेमा जानकारी दिएका थिए । 
सामाजिक सुरक्षा कोष, कोषमा आवद्ध हुने तरिका, कोषमा आवद्ध भइसकेपछि हुने फाइदाका बारेमा श्रम सहचारी कृष्ण पौडेलले श्रमिकहरुलाई वृत्तचित्रसहित प्रष्ट पारे भने राहदानी बनाउँदा चाहिने कागजात, म्याद सकिएपछि फारम भर्ने, नवीकरण गर्नेसहित लाग्ने दस्तुरका बारेमा दूतावासकी तृतीय सचिव सन्ध्या भट्टराईले जानकारी गराइन् ।
कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गणेश कार्कीले फायर सेफ्टी, हेल्थ एण्ड सेफ्टीलगायत काम गर्दा अपनाउनुपर्ने सुरक्षा र कुनै किसिमको दुर्घटना भए आफू कसरी बच्ने र बचाउने भन्ने बारेमा तालिम दिए
कतारमा रहेका नेपाली एक्सचेन्जहरूमध्ये नबिल बैंकका प्रतिनिधि दीपेन्द्र पौडेल, आईएमए नेपालका प्रतिनिधि हेमराज सुवेदी, सिद्धार्थ बैंकका प्रतिनिधि सुरेश भण्डारीले कतारमा कमाएको पैसा आफ्नो परिवारसमक्ष सुरक्षित कसरी पठाउने, मोबाइल बैंकिङ एप्सको प्रयोग कसरी गर्नेलगायत प्रशिक्षण दिए । 
कार्यक्रमलाई समापन गर्दै अध्यक्ष राजदूत ढकालले सामाजिक सञ्जालमा समय बर्बाद गर्नुभन्दा समय मिलाएर सामाजिक सुरक्षा कोषका बारेमा युट्युबमा रहेका भिडियो हेर्न अनुरोध गरे । ढकालले दूतावासले सदैव श्रमिकका हितलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको बताउँदै कार्यक्रमबाट सिकेका ज्ञानका कुरा आफ्ना साथीभाइहरूलाई पनि सिकाउन आग्रह गरे । उनले आफूले कर्म गरिरहेको देशको नियम कानूनलाई पालना गर्नसमेत अनुरोध गरे । कार्यक्रमको सहजीकरण दूतावासका प्रथम सचिव कृष्णकुमार सुवेदीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
images
images
images
लोकप्रीय
सम्बन्धित समाचार