काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको आगामी निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले तालमेलका आधारमा प्यानल घोषणा गरेका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था एसोसिएसनले आइतबार घोषणासभा आयोजना गरी भुवनसिंह गुरुङको नेतृत्वमा १७ जनाको उम्मेदवारी घोषणा गरेको हो ।
यही चैत २९ गते हुने संघको निर्वाचनमा नेकपा माओवादी केन्द्रनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र नेपाली काग्रेस निकट लोकतान्त्रिक एसोसिएसन तालमेल गरेर प्रतिस्पर्धामा उत्रने भएका हुन् ।
संघको २१ सदस्यीय कार्यसमितिमा सचिव र तीन सदस्य पद गणतान्त्रिक मञ्च र अध्यक्ष सहित अन्य पद लोकतान्त्रिक एसोसिएसनले पाएको छ । अध्यक्ष प्रत्यासी गुरुङ एसोसिएसनका पूर्वअध्यक्ष एवं संघका पूर्वद्वितीय उपाध्यक्ष तथा म्यानेजमेन्ट ओभरसिज प्रालिका सञ्चालक समेत हुन् ।
गुरुङको प्यानलबाट प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रालिका सञ्चालक नरेन्द्रप्रसाद ढकाल उम्मेदवार बनेका छन् । यसैगरी द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रालिका सञ्चालक देवकुमार खोखाली, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका सञ्चालक महेशकुमार बस्नेत सचिवमा आकृति रिक्रुटमेन्ट प्रालिका कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्षमा शुभहारती म्यानपावर प्रालिका विक्रम श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
सदस्य पदमा इम्पेरियल ओभरसिज प्रालिकी विद्यालक्ष्मी बज्राचार्य, हिमालयन भ्याली नेपाल प्रालिका देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका दीपककुमार राय, रसुवा ओभरसिज प्रालिका सुवर्ण लामा, सेक्युर नेपाल जब प्लेसमेन्ट प्रालिका सुमनराज पाण्डे, युनिक ओभरसिज प्रालिका तिलरुपा दाहाल, ग्लोबल एचआर हब प्रालिकी गीता राउत, इगल म्यानपावर कन्सल्टेन्ट प्रालिका कृष्ण ढकाल, रिजा ओभरसिज प्रालिकी रेखा शेर्मा र युनिभर्सल एचआर सोलुसन प्रालिका भरत सापकोटाले उम्मेदवारी दिने भएका छन् ।
लोकतान्त्रिक एसोसिएसनको उम्मेदवारी घोषणासभालाई सम्बोधन गर्दै गुरुङले आफू वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रतिबद्धतासहित संघको नेतृत्व गर्न अगाडि बढेको बताए । ‘म चौबीसै घण्टा व्यवसायीका लागि काम गरिरहेको छु । मलाई कुनै लोभ लालच छैन । २१ वर्ष भयो यो क्षेत्रमा काम गरेको । म काम गर्ने मान्छे हो, बोल्ने होइन,’ उनले भने । शक्तिको आडमा व्यवसायीलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्न प्रतिबद्ध भई लाग्ने उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसमापति धनराज गुरुङ, सांसद रामहरि खतिवडा, सहमहामन्त्री जीवन परियार, नैनसिंह महर, पूर्वसहरी विकासमन्त्री सीता गुरुङलगायतले सम्बोधन गरेका थिए । एसोसियसनका अध्यक्ष दीपक थापा, संघका पूर्वअध्यक्ष हंसराज वाग्ले, संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ लगायतले एसोसिएसनका उम्मेदवारहरुलाई जिताउन सबै एक जुट भएर लाग्न व्यवसायीहरुलाई अपिल गरेका थिए ।



