काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको एकता अधिवेशन हुने भएको छ । उच्चस्तरीय समितिका संयोजक शेष घलेको प्रमुख आतिथ्यतामा दुबईमा भएको अन्तरक्रिया कार्यक्रममा दुबै एनसीसीका अध्यक्षहरुले एकताको अधिवेशन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
जसअनुसार आगामी जुलाई २० मा एकताको अधिवेशन गर्नेगरी समझदारी बनेको एनसीसी समन्वयन समितिका संयोजक विनोद कुँवरले जानकारी दिए ।
दुबईको कार्यक्रममा विकास शाही नेतृत्वको एनआरएनए र पासाङ शेर्पा नेतृत्वको एनआरएनए यूएईको सहभागिता थियो । शाही र शेर्पा दुबै जनाको सहभागिता रहेको कार्यक्रमबाट एकताको अधिवेशनमा जानेगरी समझदारी भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि घलेले सर्वोच्चको परमादेश र समितिले गराउनुपर्ने एकताको महाधिवेशनैपर्ने बाध्यताका सन्दर्भमा आफ्नो धारणा राखेका थिए । उनले सबै एनसीसीहरुलाई एकताको महाधिवेशनमा सहभागितको आह्वान गर्दै यूएईको साथ र सहयोगका लागि आभार प्रकट गरे ।
यस्तै समितिका सदस्य तथा एनसीसी समन्वय समितिका संयोजक विनोद कुँवरले एनसीसीहरुमा एकताको माहोल बनेको आफूले पाएको भन्दै सर्वोच्चको परमादेश मान्नुको विकल्प नभएको बताए । उनले एकताको आफ्नो एजेण्डा दुबईमा पुष्टि भएको भन्दै खुसी प्रकट समेत गरे ।
यस्तै विकास शाहीले उच्चस्तरीय समितिलाई सहयोग गर्न सदस्यता आजैका मितिदेखि खुला गरेर बढीभन्दा बढी सदस्य बनाउन भूमिका खेल्ने बताए । पासाङले पनि सोही प्रतिबद्धता जनाउँदै एकताको विकल्प नभएको बताए ।
कार्यक्रममा पूर्वमन्त्री सुनिल थापाको समेत सहभागिता रहेको थियो । यस्तै राष्ट्रपतिका राजनैतिक सल्लाहकार सुनिल बहादुर थापा, अभियन्ता शनिकुमार ओली, यूएईमा कार्यरत विभिन्न दल निकट भात्रृ संगठनका नेताहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।



