काठमाडौं । यूएईको अबुधावीस्थित नेपाली दूतावासले यूएईमा विभिन्न पेशा र व्यवसायमा कार्यरत रहेका नेपालीहरूलाई यूएईको कानुन, नियम पालन गर्न सचेत गराएको छ ।
आइतबार एक सूचना जारी गर्दै दूतावासले ऐन, कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गरी सोही अनुरुप आचरण र व्यवहार गर्न तथा कानुनीरूपमा निषेध गरिएका क्रियाकलापहरूमा संलग्न नहुन नेपालीहरूलाई सचेत गराएको हो ।
विगत केही समयदेखि नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको र त्यस्ता व्यक्तिलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीसहित नेपाल फिर्ता पठाउने गरेको जानकारी गराउँदै नेपाली दूतावासले यसतर्फ समयमै सचेत रहन आग्रह गरेको छ ।
दूतावासले जथाभावी मादक पदार्थ सेवन गरी झैझगडा गरेको र रेसिडेन्सियल नियम पालना नगरेकै कारण हालका दिनहरूमा डिपोर्ट हुने नेपालीहरुको संख्यामा वृद्धि भएको जनाएको छ । दूतावासले ट्राफिक नियमको पालना गर्न तथा आफ्नो इमिरेट्स परिचय पत्र सधैं साथमा लिएर हिँड्न समेत दूतावासले आग्रह गरेको छ ।
दूतावासले कुनै समस्या वा गुनासो प्रस्तुत गर्नुपरेमा दूतावासका सम्बन्धित अधिकारीसमक्ष सभ्य, शिष्ट र मर्यादित भई आफ्ना समस्या निवेदन गर्नु पनि आग्रह गरेको छ ।



