Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

अमेरिकाबाट ‘डिपोर्ट’ भएका नेपालीको पीडा : ‘ जिउँदै ल्याएर छाडिदियो, अब ऋण कसरी तिर्ने ? ’

अमेरिकाबाट ‘डिपोर्ट’ भएका नेपालीको पीडा : ‘ जिउँदै ल्याएर छाडिदियो, अब ऋण कसरी तिर्ने ? ’

प्रहरीसँग एकजनाले भन्दै थिए, ‘जस्तो गएँ, त्यस्तै आएँ ।’ उनले भने, ‘जाँदा बरु अलिकति पैसा थियो, अहिले त त्यो पनि छैन ।’

बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ । आधिकारिक कागजातविनै अमेरिकामा बसेका ८ जना नेपालीलाई अमेरिकाले (हिजो) अर्थात गत बुधवार बिहान १० बजे काठमाडौं ल्याएर छोडिदिएको हो ।

    अमेरिकाले काठमाडौं ल्याएर छाडेकाहरुमा एक महिला र सात पुरुष छन् ।

    images

    काठमाडौं उत्रिएसँगै उनीहरूलाई खुट्टामा नेल र हातमा हतकडीसहित स्वदेश फिर्ता आउनुपरेको पीडा । शुरुमा विमानस्थल अध्यागमनलाई जिम्मा लगाइएका उनीहरूलाई अध्यागमनले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो । ब्युरोमा दिनभरि बयान लिइयो र आफन्तको जिम्मामा उनीहरूलाई छाडियो ।

    अमेरिकाको अध्यागमन कानुनअनुसार अवैध रूपमा उक्त मुलुकमा बसेका आप्रवासीलाई आफ्नै देश फर्किनका लागि केही समय चेतावनी दिने गरिन्छ । चेतावनी दिँदा पनि अटेर गरी बसेमा खुट्टामा नेल र हातमा हत्कडी बाँधेर सम्बन्धित मुलुकको अध्यागमनलाई बुझाइन्छ । जीआरपी २३ विमानबाट आएका ८ जनाले अमेरिकी सरकारको पटक पटकको चेतावनीलाई वास्ता नगरेपछि उनीहरू यातनापूर्वक फिर्ता पठाइए ।

    ‘चेतावनी दिँदैमा फर्किनुपर्थ्यो नि त’, भन्दै फर्किएका मध्ये एक जनालाई बयान लिने प्रहरीले सोधे । उनले भने, ‘उतै मारिदिएको भए ऋणको चिन्ता हुने थिएन, जिउँदै ल्याएर छाडिदियो, अब कता जाने ?’

    आएकामध्ये सबैको बयानका भाषा फरक छन्, तर आशय उही छ, ‘लुक्नु र भाग्नुको उपाय थिएन, फर्किने कुरा त सोचेकै थिएनौँ ।’

    अनुसन्धानमा संलग्न प्रहरीका अनुसार ९ जनामध्ये थोरै रकम खर्च गरेर अमेरिका जानेको ४० लाख रुपैयाँ खर्च भएको थियो । बढी खर्च गरेर अमेरिका जानेमा एकजनाले ७० लाख तिरेको बताए ।

    ‘कसैले पनि ऋण तिरेका छैनन्, बरु नेपालमा बस्ने परिवारका सदस्यले शुरु ऋण फर्स्यौट गर्न अन्य ऋण गरेका कारण सबैमा एक किसिमको तनाव देखिन्थ्यो’

    अमेरिकामा वैधानिक रूपमा बस्ने कागजात मिलेको र काम गर्न पाएको भए एक वर्षमा उनीहरूले ऋण तिर्न सक्थे । तर, फर्काइएका मध्ये कतिपय त गएकै दिनदेखि अमेरिकी हिरासतमा राखिएका थिए ।

    प्रहरीसँग एकजनाले भन्दै थिए, ‘जस्तो गएँ, त्यस्तै आएँ ।’ उनले भने, ‘जाँदा बरु अलिकति पैसा थियो, अहिले त त्यो पनि छैन ।’

    उनीहरू नेपालमा उतारिनासाथ विभिन्न सञ्चार माध्यमबाट अध्यागमनमा बुझाइएको नामको सूची सार्वजनिक गरिँदा समस्या भएको उनीहरूले बताए । प्रहरीले सञ्चारकर्मीहरूले कुरा गर्न चाहेको सुनाएपछि उनीहरूले अस्वीकार गर्दै त्यस्तो कुरा भनेका हुन् ।

    ‘यो समाचार सुनेर गाउँमा भएका आफन्त त्यसै पनि विक्षिप्त हुने भए’, फर्किएका एकले भने, ‘त्यसमाथि हाम्रो ठेगाना, फोटो र भिडियो नै देखाइदिएपछि हामी त मर्नु न बाँच्नुका हुन्छौँ ।

    बुधवार फिर्ता आउनेमध्ये एकजना डोटी जिल्लाका, पूर्वी र पश्चिम रुकुमका दुई–दुईजना, रोल्पाका एक र दाङका तीनजना थिए । प्रहरीले आफन्तको जिम्मा लगाउने भनेपछि कतिपयले आफन्त नै बोलाए । तर, अधिकांशले साथीलाई बोलाए । ‘उनीहरू मानसिक रूपमा एकदमै तनावग्रस्त अवस्थामा देखिन्थे’, अनुसन्धानमा संलग्न ती प्रहरीले भने, ‘सबैलाई ऋण तिर्ने चिन्ता थियो ।’

    अल्बानियामा नेल खोलियो, काठमाडौंमा हत्कडी

    अमेरिकाबाट उडान शुरु हुँदा सबैका हातमा हत्कडी र खुट्टामा नेल बाँधिएको थियो । पूर्वीयुरोपेली मुलुक अल्बानियामा जहाजको इन्धन भर्न अवतरण गरिँदा त्यहाँ एक घण्टा जहाज होल्ड भयो ।

    त्यसक्रममा उनीहरूको खुट्टाबाट नेल हटाइयो । हातको हत्कडी भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि मात्रै खोलिएको फर्किएका नेपालीले प्रहरीलाई बताए ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गर्दा उनीहरूले हात र खुट्टामा रहेको नेल र हत्कडीको डाम नै देखाए । नियमित उडानबाट फर्किएका एक जनाबाहेक सबै भोकै थिए । चार्टर जहाजमा आउनेहरूलाई पानी र केही फलफूलबाहेक केही नदिइएका कारण उनीहरू भोकै अवस्थामा रहेको ती प्रहरीले बताए ।

    घर फर्किन कसैले चाहेनन्

    पासपोर्टमा उल्लेखित स्थायी ठेगानामा फर्किने चाहना कसैले पनि देखाएनन् । तीमध्ये केहीका परिवार काठमाडौं र स्थायी ठेगाना आसपासका शहरी भेगमा बसोबास गर्ने भन्दै उनीहरू त्यहीँ जाने भनिरहेका थिए । कतिपयमा आफू फर्किएको चिन्ताले परिवारका सदस्यमा मानसिक चिन्ता बढ्ने भन्दै आएको खबर पनि नपाए हुन्थ्यो भनेजस्तो गरिरहेका थिए ।

    उजुरी गर्दैनौँ

    फिर्ता ल्याइएकामध्ये सबैले अमेरिका जानुपूर्व विभिन्न ‘दलाल’ लाई पैसा बुझाएको स्वीकारे । तर, कसैले तिनको नाम बताएनन् । ‘उनीहरूको काम अमेरिका छिराउने थियो, हामी छिरेर पनि आयौँ’, एकजनाले भने, ‘अब कुन मुखले पैसा फिर्ता माग्न जानु ?’ प्रायःले यस्तै जवाफ दिएको र कसैका विरुद्ध उजुरी नगर्ने बताएको अनुसन्धानमा संलग्न प्रहरीले बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार