Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

ट्रम्प नीतिपछि तीन सातामा अमेरिकाबाट २३ नेपाली डिपोर्ट

ट्रम्प नीतिपछि तीन सातामा अमेरिकाबाट २३ नेपाली डिपोर्ट

जसमा ४ महिला र १९ पुरुष छन् ।

मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । अमेरिकी प्रशासनले कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने अभियानअन्तर्गत पछिल्ला केही सातामा २३ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। जसमा ४ महिला र १९ पुरुषलाई अमेरिका सरकारले नेपाल फिर्ता पठाएको हो।

    ट्रम्प प्रशासनले अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईसीई) मार्फत नेपालसहित कागजातविहीन आप्रवासीलाई पक्राउ गरी निष्कासनको अभियान नै चलाएको छ। अमेरिकी प्रशासनले निष्कासनमा पर्नेको सूची वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासलाई बुझाएको थियो। त्यसपछि नेपाली दूतावासबाट ‘ट्राभल डकुमेन्ट’ बनाएर उनीहरूलाई नेपाल फिर्ता गरिएको हो। डिपोर्टमा परेका सबै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनको जिम्मा लगाइएको छ। 

    images

    विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईका अनुसार, जनवरी २२ यता २३ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्। पछिल्लो पटक फेब्रुअरी १७ मा एक जना नेपाली काठमाडौं आइपुगेका थिए। यसअघि, जनवरी २२ र २४ मा १र१ जना, जनवरी २९ मा १ जना, जनवरी ३० मा २ जना, जनवरी ३१ मा १ जना, फेब्रुअरी १ मा ३ जना, फेब्रुअरी ५ मा ३ जना, फेब्रुअरी ६ मा २ जना, फेब्रुअरी ८ मा ६ जना, फेब्रुअरी १६ मा २ जना नेपाल फर्काइएको थियो।

    डिपोर्ट भएका नेपालीहरू मानव तस्करमार्फत अमेरिका पुगेका वा भिसाका विभिन्न कार्यक्रममार्फत अमेरिका प्रवेश गरेर उतै लुकेर बसेका थिए। नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरूबाट गिरोहबारे सूचना प्राप्त गर्न सोधपुछ गरिरहेको छ।

    ‘गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न ठगीमा पारिएका नेपालीहरूले मोटो रकम बुझाउने गरेका छन्,’ प्रवक्ता आचार्यले भने, ‘नेपाल, एसिया, अफ्रिका हुँदै दक्षिण अमेरिका पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने योजनामा संलग्न गिरोहहरूको सञ्जाल रहेको अनुसन्धानबाट खुलेको छ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार