काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ कार्यदेश जारी गरेपछि नेपालीहरू मारमा परेमा छन्।
पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई निष्काशित गरेको छ ।
डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन २० जनवरी (माघ ७ गते) देखि फेब्रुअरी ११ (माघ २९ गते) को बीचमा २० जना नेपाली डिपोर्ट भएको अध्यागमन कार्यालयको तथ्यांक छ ।
ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता सिता परियारका अनुसार २० जनवरीदेखि ११ फेब्रुअरीको बीचमा १ महिला र १९ पुरुष गरी जम्मा २० जना नेपालीहरुलाई अमेरिकाले स्वदेश फर्काइसकेको छ ।
उनका अनुसार अमेरिकाको अध्यागमन कार्यालयले पठाएको पत्रमा ‘विना भिसा’ यात्रा गरेको र ‘गलत नियत’का साथ बसोबास गरेकाले उनीहरुलाई फर्काइएको व्यहोरा उल्लेख छ ।
अध्यागमन कार्यालयको रेकर्डमा डिपोर्ट भएका सबैभन्दा धेरै ६ जना नेपाली फेब्रुअरी ८ अर्थात् माघ २६ गते काठमाडौं ओर्लिएका छन् । यसैगरी फेब्रुअरी ६ मा २ जना तथा फेब्रुअरी ५ र १ मा ३/३ जना नेपाली स्वदेश फर्किएका छन् ।



