काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको निर्वाचन आगामी २ फागुनमै गर्न माग गर्दै दबाबका लागि हस्ताक्षर अभियान सुरु भएको छ ।
संघ कार्यसमितिले विभिन्न कारण देखाउँदै २ फागुनका लागि तय भएको नयाँ कार्यसमितिको निर्वाचनसहितको साधारणसभा स्थगित गरी आगामी १७ असार २०८२ मा गर्ने निर्णय गरेपछि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन र तराई वैदेशिक रोजगार व्यवसायी समाजले छुट्टाछुट्टै विज्ञप्तिमार्फत निर्वाचन तोकिएको समयमै गर्नुपर्ने माग गरेका थिए ।
गणतान्त्रिक मञ्चको आह्वानमा सोमबार धुम्बाराही क्षेत्रमा करिब १०० जना व्यवसायीले पूर्वनिर्धारित मितिमा नै कार्यसमितिको निर्वाचन गर्न माग गर्दै हस्ताक्षर गरेको मञ्चका महासचिव कुन्छा दोर्जे दिमदोङले जानकारी दिए । हस्ताक्षर संकलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का सांसद राजन दाहालको उपस्थिति थियो ।
महासचिव दिमदोङले संकलन गरिएको हस्ताक्षर संघ र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि बुझाउने बताए । एसोसिएसन अध्यक्ष दीपक थापाले हस्ताक्षर अभियान संयुक्त रूपमा संचालन गरिएको भन्दै मंगलबारदेखि राजधानीका विभिन्न भागमा हस्ताक्षर संकलन अभियान गरिने बताए । उनले संघले दबाब महसुस गर्नेगरी विरोधका कार्यक्रम गरिने पनि जानकारी दिए ।



