काठमाडौँ । फागुन २ गतेका लागि तय भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औ बार्षिक साधारणसभा तथा निर्वाचन सर्ने भएको छ । तयारी नपुगेको तथा केही व्यवसायी संस्थाहरूबिचको विवादका कारण यसअघि तोकिएको मितिमा निर्वाचन नहुने भएको हो ।
व्यवसायीहरूले उठान गरेका विभिन्न मुद्दाहरू, संघको भवन बनाउने विषय, विधान संशोधन लगायतका विषयमा विवाद उठेपछि तोकिएको मितिमा निर्वाचन गर्न सम्भव नभएको कार्यसमिति सदस्य बिक्रम श्रेष्ठले बताए । श्रेष्ठका अनुसार संघको स्थापना दिवस पारेर आउँदो २०८२ को असार १७ गते साधारणसभा तथा निर्वाचन हुनेगरि तयारी गरिएको बताए ।
यता, साधारणसभा तथा निर्वाचनको मिति सार्ने संघको निर्णयमा व्यवसायीहरूले भने विरोध जनाएका छन् । चुनावी प्रक्रिया नै अघि बढिसकेको अवस्थामा एकाएक सार्ने निर्णय गरिएको भन्दै व्यवसायीहरूले विरोध जनाएका हुन् ।
निर्वाचन सार्ने निर्णयप्रति असहमति जनाउँदै कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले संघमा ज्ञापनपत्र बुझाएका छन् ।
संघको निर्वाचनका लागि राजनीतिक दल निकटका व्यवसायी संस्थाहरू प्यानल बनाएका थिए । निर्वाचनका लागि ३ वटा प्यानल समेत घोषणा भैसकेको थियो । लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक एसोसिएसनले भुवनसिंह गुरुङको नेतृत्वमा प्यानल घोषणा गरेका थिए भने एसोसिएसनकै असन्तुष्ट पक्षले कुमुद खनालको नेतृत्वमा अर्को प्यानल बनाएका थिए । त्यस्तै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले नरेश गेलालको नेतृत्वमा अर्को प्यानलको घोषणा गरेको थियो ।



